छैटाैँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता आज बुधबारदेखि सुरु हुँदैछ ।
बकैया–३ स्थित बकैया रंगशालामा सञ्चालन हुने प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गरेका छन् ।
बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आज सिनियरतर्फको वडा नम्बर ३ र ७ बीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल दिउँसो १ बजे सुरु हुनेछ ।
यस्तै, दोस्रो दिन २५ गते वडा नम्बर ४ र १० बीच तथा वडा नम्बर ६ र ८ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै, २७ गते वडा नम्बर ५ र ९ बीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, जुनियरतर्फ पुस २६ गते ११ नम्बर र १२ बीच र २७ गते वडा नम्बर १ र २ बीच प्रतिस्पर्धा हुनेछ । यस संस्करणको प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने भएको हो ।
यस वर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सिनियर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने संयोजक लामाले बताए ।
माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट चरणमा खेलाइने जनाएको छ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै, जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।