logo-img

बारम्बार किन गइरहन्छ भूकम्प, के नेपाल ठूलै जोखिममा छ ?

मंगलबार बिहान चीनको डिङ्गयी क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी हालसम्म ९५ जनाले ज्यान गुमाएका छन् भने १३० जनाभन्दा बढी घाइते भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उक्त भूकम्पको धक्का नेपालका विभिन्न जिल्लाहरूमा पनि महसुस गरिएको छ ।

नेपालका करिब १४ वटा जिल्लामा उक्त भूकम्पको धक्का महसुस गरिएको हो । उक्त भूकम्पले नेपालमा ५ दशमलव ३ म्यागनिच्यूडको धक्का महसुस गराएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

कोशी प्रदेशका सङ्खुवासभा, भोजपुर तेह्रथुम, ताप्लेजुङलगायत नौ वटा जिल्लामा कडा धक्का महसुस गरिएको छ भने अन्य पाँच जिल्लामा सामान्य धक्का महसुस भएको छ । 

आज गएको भूकम्पको मधेस प्रदेशका जिल्लाहरूमा सामान्य धक्का महसुस गरिएको थियो भने बागमती प्रदेशका काठमाडौं उपत्यका र उत्तरतर्फका तिब्बतसँग सीमाना जोडिएका जिल्लाहरूमा कडा धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । नेपालमा हालसम्म कुनै मानवीय तथा भौतिक क्षति नभएको केन्द्रले जनाएको छ ।



एक महिनामा ११ पटक भूकम्पको धक्का महसुस

नेपालमा १ पुस यता ११ पटक भूकम्पको धक्का महसुस गरिएको छ । २ पुसमा बझाङलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ३ म्यागनेच्यूटको भूकम्प गएको थियो भने आज (पुस २३ गते) नेपालमा ५ दशमलव २ म्यागनेच्यूटको धक्का महसुस गरिएको छ । योबीचको अवधिमा जति पनि भूकम्पका पराकम्पन गएका छन् ती सबै पश्चिम नेपालका जिल्लाहरूलाई केन्द्र विन्दु बनाएर गएका छन् ।



यो अवधिमा बाजुरा, दार्चुला, जाजरकोट, सिन्धुपाल्चोक, मुगु, र बैतडीमा एक/एकपटक भूकम्प गएका छन् भने बझाङ र बाजुरा जिल्लामा दुई/दुई पटक गरी जम्मा १० पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

पुस १९ मा मुगु केन्द्र विन्दु भएर ४.४, सोही दिन मनाङ केन्द्र विन्दु भएर ४.१, १८ गते सिन्धुपाल्चोक केन्द्र विन्दु भएर ४.८, १६ गते बैतडी केन्द्र विन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।



यस्तै पुस ११ गते जाजरकोट केन्द्रविन्दु भएर ४.२, ९ गते दार्चुला केन्द्रविन्दु भएर ४, ५ गते बाजुरा केन्द्रविन्दु भएर ५.२, ४ गते मनाङ केन्द्र विन्दु भएर ४.७, ३ गते बझाङ केन्द्र विन्दु भएर ४.१ र २ गते पनि बझाङ नै केन्द्र विन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यस्तै पछिल्लो नौ महिनामा १९ वटा भूकम्पको धक्का महसुस गरिएको छ । २०८१ साल सुरु भएयता आएका सबै भूकम्प ४ म्याग्नेच्यूडभन्दा माथिकै रहेका छन् । २०७२ सालमा गोरखाको बारपाक क्षेत्रलाई केन्द्र विन्दु बनाएर गएको विनाशकारी भूकम्पले दिएको घाउ पुरिन नपाउँदै पुनः पटक–पटक भूकम्प जान थालेपछि नेपाली जनसमुदाय त्रसित बन्न थालेका छन् । आजको भूकम्पले अधिकांशलाई २०७२ सालको भूकम्प सम्झाइदिएको छ ।

नेपाल भूकम्पको कति जोखिममा ?

नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा रहेको मानिन्छ । नेपालको पनि पश्चिमी जिल्लाहरू अझ बढी जोखिममा रहेको विभिन्न अध्ययनले पनि देखाएका छन् । भूकम्पको जोखिममा नेपाल विश्वको ११औँ स्थानमा रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

संयुक्त राष्ट्रसंघ ‘ब्यूरो अफ क्राइसिस प्रिभेन्सन’का अनुसार विश्वका १९८ मुलुक मध्ये नेपाल भूकम्पीय जोखिमले ११ औँ स्थानमा पर्नुको कारण कमजोर भौतिक संरचना पनि रहेको अध्ययनले देखाएको छ । सरकारले भवन निर्माण सम्बन्धी ‘भवन निर्माण आचारसंहिता २०५५ जारी गरेको छ । तर त्यसको कार्यान्वयन हुन नसक्दा त्यसले भूकम्पको जोखिमलाई बढावा दिइरहेको जानकारहरू बताउँछन् ।

नेपालमा पछिल्लो ९ महिनामा गएको भूकम्पको केन्द्र विन्दुलाई हेर्दा पनि उक्त कुरा पुष्टि हुन्छ । नौ महिनाको अवधिमा जति पनि भूकम्प गएका छन् ती सबै नेपालका पश्चिमी जिल्लालाई केन्द्र विन्दु बनाएर गएका छन् ।

कुन देश वा क्षेत्रमा कत्तिको ठूलो र कति नियमित रूपमा भूकम्प आउँछ भन्ने कुरा उक्त क्षेत्रमा भएका टेक्टोनिक्स प्लेटहरूको गतिमा भर पर्छ । तर भूकम्प कहिले आउँछ भनेर त्यसको अनुमान भने लगाउन सकिँदैन ।

नेपालकाे जमिनमुनि रहेको इन्डियन प्लेट हरेक वर्ष १८-२० सेन्टिमिटरका दरले तिब्बतियन प्लेटमुनि घुसिरहेकाले नै नेपालमा बारम्बार भूकम्प गइरहेको छ । गोरखापश्चिमतर्फत र भारतको देहरादुनदेखि पूर्वतर्फको भागमा ५०० वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेकाले पनि नेपालमा भूकम्पीय उच्च जोखिममा छ । उक्त सञ्चित शक्तिले जुनसुकै बेला पनि ठूलो क्षति पुर्‍याउन सक्ने भन्दै पूर्व सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिँदै आएका छन् ।

पृथ्वीको सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष दुई सेन्टिमिटरको दरले उत्तरमा युरेसियन प्लेटतर्फ सरिरहेकाले हिमालय क्षेत्रमा भूकम्पीय दरार पैदा भइरहेको छ ।  ८ म्याग्निट्यूड वा त्योभन्दा ठूलो भूकम्पलाई महाभूकम्प भन्ने गरिन्छ । विज्ञहरूले कमजोर भौतिक संरचनाका कारण भूकम्पबाट ठूलो जनधनको क्षति निम्त्याउने गरेको भन्दै त्यसमा सुधार गर्नुपर्ने जनाउँदै आएका छन् ।

नेपालमा कहिले–कहिले गए ठूला भूकम्प ?

पछिल्लो पटक नेपालमा २०७२ साल वैशाख १२ गते विनाशकारी महाभूकम्प गएको थियो । उक्त भूकम्पमा परी ८ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए भने १७ हजारभन्दा बढी मानिस घाइते भएका थिए ।

२०४५ साल भदौ ५ गते उदयपुर जिल्लालाई केन्द्र विन्दु बनाएर ६.५ रेक्टर स्केलको भूकम्प जाँदा ७२१ जनाको मृत्यु भएको थियो । त्यस्तै २०३७ साल साउन १४ गते बझाङमा गएको ६.५ रेक्टर स्केलको भूकम्पमा १०३ जनाको मृत्यु भएको थियो ।

१९९० साल माघ २ गते बझाङको चैनपुर केन्द्रविन्दु भएर ८.३ म्यागनेच्यूडको भूकम्पमा परी ८ हजार ५१९ जनाको मृत्यु भएको थियो ।

भूकम्पबारे के भन्छन् विज्ञ ? 

डा. राजु थापा
अध्यक्ष, प्रकोप पूर्वतयारी सञ्चाल

पश्चिम अफगानस्तानदेखि पूर्वमा बर्मासम्म २५ सय किलोमिटर लामो हिमाली क्षेत्र रहेको छ । त्यसमध्ये ८०० किलोमिटर करिब एक तिहाइ भाग नेपालमा पर्छ । जुन २५ सय किलोमिटर भनेको टेक्टोनिक प्लेट टकराब हुने ठाउँ हो । त्यसले गर्दा हामी सुई बिग्रिएको टाइम बममाथि बसेको जस्तो अवस्थामा छौँ । त्यो बम कतिखेर विस्फोट हुन्छ त्यो कसैलाई थाहा छैन ।

पश्चिम नेपालमा सन् १५०५ मा ठूलो विनाशकारी महाभूकम्प गएको थियो । त्यसपछि ठूलो भूकम्प गएको छैन । पश्चिम नेपालमा पाँच सय वर्षदेखि सञ्चय भएको शक्तिलाई भूगर्भविदरूले पनि अनौठो रूपमा लिइरहेका छन् । किनभने सामान्यतः ६० देखि १०० वर्षको बीचमा भूकम्प जाने गर्छ तर पश्चिम नेपालमा पाँच सय वर्षदेखि ठूलो भूकम्प गएको छैन । त्यसले नेपाललाई उच्च जोखिममा राखेको छ । प्रत्येक वर्ष ४ सेन्टिमिटरका दरले भारतीय टेक्टोनिक्स प्लेट तिब्तीय टेक्टोनिक्स प्लेटतर्फ घुसिरहेकाे छ र त्यसरी घुस्दा उत्पन्न भएको ठूलो इनर्जी सञ्चित भएर बसिरहेको छ । 

उक्त ठाउँमा आज गएको जस्तै ७ म्यागनेच्यूडका २५ सयवटा भूकम्प बराबरको शक्ति सञ्चित भएर बसेको छ । भूकम्प मापन गर्ने प्रणाली नै फरक हुने भएका कारण ४ म्यागनेच्यूटको भूकम्प जाँदा जति क्षति हुन्छ । ८ म्यागनेच्यूडको जाँदा त्यसको डबल क्षति हुन्छ होला भन्ने हाम्रो सोचाइ हुन सक्छ तर भूकम्पको मामलामा त्यस्तो हुँदैन । केही समयअघि बझाङमा ६.३ म्यागनेच्यूटको भूकम्प गएको थियो तर त्यहाँ कुनै मानवीय क्षति भएन । त्योभन्दा प्वाइन्ट एक मात्रै बढीको भूकम्प जाजरकोटमा जाँदा ठूलै जनधनको क्षति भयो । त्यसकारण प्वाइन्ट एक स्केलको भूकम्पले त्यति ठूलो क्षति गर्छ भने ४ रेक्टर र ८ रेक्टरको भूकम्पमा दश हजार गुणा फरक हुन्छ । कम्तीमा ८.२ रेक्टरको भूकम्प जान्छ भनिरहँदा त्यो भनेको गत वर्ष जाजरकोटमा गएको भूकम्पभन्दा ५०० गुणा बढी हुन्छ । त्यसकारण पाँच सय गुणा ठूलो भूकम्प गयो भने त्यसले गर्ने क्षतिकाे आकलन हामी गर्न सक्दैनौँ ।

अब हामीले संरचना निर्माण गर्दा निकै ध्यान दिनुपर्छ । हामीले बनाएका संरचना आफ्नै लागि चिहान बन्न सक्छन् । पश्चिम नेपालमा संरचना निर्माण गर्दा लाइटवेटका संरचना निर्माण गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ ।

स्थानीय ज्ञान सीपको प्रयोग गरेर, काठ, बाँसबाट घरहरू निर्माण गर्नुपर्छ । जाजरकोटमा गएको भन्दा ५०१ गुणा ठूलो भूकम्प जाने सम्भावना छ । त्यसैले अब खेलाँची गर्ने ठाउँ छैन । पूर्वी नेपालमा ९०/१०० वर्षको अन्तरालमा बारम्बार ठूला भूकम्प गइरहेकाले त्यहाँ भूकम्प प्रतिरोधी संरचनाहरू निर्माण भएका छन् । तर पश्चिम नेपालमा ठूलो भूकम्प नआएकाले त्यहाँका संरचना निर्माणमा त्यति धेरै ध्यान दिएको देखिँदैन । अब भने भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्छ ।

अहिले बारम्बार गइरहेको भूकम्प कुनै भूकम्पका पराकम्पन हुन् कि भविष्यमा आउने ठूलो भूकम्पको पूर्वकम्पनको सङ्केत हो त्यसको जाँच गर्ने प्रविधि नभएकाले अहिले नै यसलाई यही हो भनेर भन्न सकिने अवस्था छैन । भविष्यमा जानसक्ने भूकम्पकाे मोनिटरिङ गर्न सकेको खण्डमा मात्र पनि ठूलो क्षति हुनबाट बचाउन सकिन्छ । सरकारले भूकम्पबाट भविष्यमा हुने क्षति न्यूनीकरण गर्ने विषयमा लगानी तथा अध्ययन अनुसन्धान बढाउनुपर्छ ।

०००

डा.लोकविजय अधिकारी
वरिष्ठ भूकम्पविद्

भूकम्प जाने पहिचान भएका ठाउँहरूमा नियमित रूपमा भूकम्प गइरहेका हुन्छन् । विशेष गरेर भूकम्प तीन किसिमका हुन्छन् । एउटा मुख्य भूकम्प जसले धेरै शक्ति ल्याउँछ र ठूलो विनाश गर्छ । मुख्य भूकम्प आउने भन्दा पहिला आउने केही साना भूकम्प जसलाई पूर्वकम्पन भनिन्छ । तर मुख्य भूकम्प नआउँदासम्म भने याे पूर्वकम्पन हाे भनेर भन्न सकिँदैन । सानाे स्केलकाे भूकम्प गएलगत्तै ठूलाे भूकम्प गयाे भने त्यसलाई पूर्वकम्पन भनिन्छ ।

त्यसपछि अर्काे किसिमकाे भूकम्प जसलाई पराकम्पन भनिन्छ । जुन मुख्य भूकम्प गइसकेपछि त्यसलाई पछ्याए आउने साना भूकम्पहरू हुन् । भूकम्पको भविष्यवाणी गर्न नसकिने भएका कारण पनि नियमितरूपमा आउने साना भूकम्पहरू पराकम्पन हुन वा पूर्वकम्पन हुन् भनेर छुट्याउन सकिँदैन । 

नेपाल भूकम्पीय जोखिममा रहे पनि भूकम्पको भविष्यवाणी गर्न नसकिने भएकाले ठूलो भूकम्प आउँछ वा आउँदैन भनेर नियमितरूपमा जाने भूकम्पलाई आधार मानेर भन्न सकिँदैन । सानो भूकम्पपछि कुनै ठूलो भूकम्प गयो भने त्यसलाई पूर्वकम्पन मानिन्छ तर त्यसपछि ठूलाे भूकम्प गएन भने पराकम्पन मानिन्छ । ठूलो भूकम्प जाने शक्ति सञ्चित भएर बसेकाले त्यसको आकलन त गर्न सकिन्छ तर कहिले जान्छ भनेर अनुमान गर्न सकिँदैन । जति ढिलो भूकम्प जान्छ त्यति ठूलो भूकम्प जानका लागि शक्ति सञ्चित भइरहेको हुन्छ । जति छिटो जान्छ त्यहाँ थोरै शक्ति हुन्छ । जसले सानो भूकम्प ल्याउँछ ।

त्यसैले ठूलो भूकम्प नगएसम्म त्यसले सङ्केत दिएको मानिँदैन । कुन ठाउँमा कति ठूलो भूकम्प आउन सक्छ र त्यसले कति क्षति गर्न सक्छ भनेर पूर्वानुमान गर्न सकिने भए पनि कहिले आउँछ भनेर समय तोक्न सकिँदैन ।

गोरखाबाट पश्चिमतर्फत भारतको देहरादुनदेखि पूर्वतर्फको भागमा अहिलेसम्मको जानकारी अनुसार सन् १५०५ मा ठूलो भूकम्प गएको र त्यसपछि त्यो स्केलको भूकम्प त्यस क्षेत्रमा गएको छैन । त्याे क्षेत्रमा शक्ति संचित भएकाले त्यो भूभागलाई जोखिमयुक्त क्षेत्र मानिएको हो । त्यहाँ ठूलो भूकम्प जानका लागि शक्ति तयार भएर बसेको छ तर कहिले जान्छ भनेर भन्न सकिँदैन ।

  • प्रकाशित मिति : पुस २३, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया