logo-img

लण्डनमा गुन्जियो कन्दरा

पोखरेली ब्याण्ड कन्दराले लण्डनमा पहिलो कन्सर्ट गरेको छ । शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो ।

कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविस्मरणीय भनेको छ । 

नेपालीका कार्यक्रम बिरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकको बेजोड लाइभ सङ्गीतमा करिब दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पारे । 

गायक श्रेष्ठले ‘तगारोमा रुमाल राखी’, ‘जिन्दगीको यो उत्सव हो वरदान ईश्वरको’, ‘विदेशिएर गइन् उनी’, ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छीको’, ‘कहाँ हिँडेकी’, ‘तिमी पारि त्यो गाउँमा’ र ‘बल्लतल्ल भेट भाको’लगायतका गीत सुनाए ।  



ओटुमा कन्दरा गुन्जिदा झण्डै दुई हजार ८०० दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ । गायक श्रेष्ठले गोपाल योञ्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ गाउँदै बेलायतका नेपालीलाई नेपाल फर्किन अपिल गर्नुभएको थियो । 

‘विश्व सङ्गीतका लिजेण्डको प्रस्तुति रहिसकेको यो ठाउँमा प्रस्तुति दिनु मेरो सपना थियो, आज यो ऐतिहासिक हलमा नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमा-बाबामाँझ गाउन पाउनु मेरो लागि अझै सपना झैँ लागि रहेको छ’ कार्यक्रमको सफलतापछि उत्साहित श्रेष्ठले भने ।



कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ड्रम्समा रहेका सुनिल थापा ब्याण्ड स्थापना कालदेखिका सदस्य छन् ।

कन्दराले आफ्नो ३२ वर्षे सांगीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४/०२५ लाई’ पहिला घरदेश, अनि परदेश’ को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरेको छ ।



यो कन्सर्ट लगत्तै यही जुनमा दुबई, कतार तथा हङकङमा प्रस्तुति दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्युजिल्यान्ड, मे’ मा अमेरिका, जुनमा क्यानडा र जुलाई-अगष्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा सांगितिक प्रस्तुति दिने जनाएको छ ।

  • प्रकाशित मिति : पुस २२, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया