आसन्न आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पूजा महतोको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी सोनी पाख्रिनले सम्हाल्ने छिन् ।
क्यानले गत डिसेम्बरमा मलेसियामा भएको एसिसी यू–१९ महिला एसिया कप खेलेको टोलीलाई नै विश्वकपमा निरन्तरता दिएको छ ।
गत नोभेम्बरमा यूएईमा आयोजित यू–१९ महिला विश्वकप एसिया छनोटको उपाधि जित्दै नेपाल पहिलोपटक यू–१९ महिला विश्वकपमा छनोट भएको थियो ।
जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने विश्वकपमा नेपालसहित १६ राष्ट्रले भाग लिँदै छन् । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । समूहमा चरणमा नेपालले अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग खेल्नेछ ।
नेपालले पहिलो खेलमा १८ जनवरीमा बंगलादेशको सामना गर्नेछ । यस्तै, नेपालले २० जनवरीमा स्कटल्याण्ड तथा २२ जनवरीमा अस्ट्रेलियासँग खेल्ने तालिका छ ।
चारै समूहको शीर्ष तीन टोलीले सुपर सिक्स स्थान बनाउने छन् । उक्त राउन्डमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । यदि समूह चरणमा एउटा खेल्न जित्न सके नेपालले शीर्ष तीनमा रहेर सुपर सिक्स खेल्न पाउनेछ ।
नेपाली टोली : पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा र अनु कडायत ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।