logo-img

पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा मुना मालिका

म्याग्दीको धवलागिरि गाउँपालिका-३ मा रहेको पर्यटकीयस्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ । हिमशृङखला, सूर्योदय, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने यो स्थान समुन्द्री सतहदेखि तीन हजार सात सय मिटर उचाइमा छ । प्रचुर सम्भावना भए पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा  मुना मालिकामा पर्यटकीय गतिविधि बढ्न नसकेका गाउँपालिका–३ का वडाअध्यक्ष देवेन्द्र रोकाले बताए ।

उनका अनुसार यहाँबाट पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, नीलगिरि हिमशृङखलाको अवलोकन गर्न सकिन्छ । साथै म्याग्दी र बागलुङका बस्ती, बादल र पहाडको लुकामारी हेर्न पाइन्छ । मुनादेखि मालिका धुरी जाने पदमार्ग दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे)को बासस्थान पनि भएको वडाअध्यक्ष रोकाले जानकारी दिए ।

मुना मालिकामा हरेक वर्ष बुद्ध पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । यस क्षेत्रमा जालिका, मालिका र कालिका देवीका थान रहेका छन् । बुद्ध पूर्णिमाका दिन मुना मालिकामा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

मालिका गाउँपालिकाको देविस्थान र धवलागिरिको मुनाका बासिन्दा यहाँ पूजाआजाका लागि आउने गर्छन् । पहिले यहाँ धार्मिक मेला र ठेलो फाल्ने प्रतियोगितासमेत हुने गरेको जानकारहरू बताउँछन् ।



यो मुनाका कृषकहरूको गाईभैँसी र भेँडाबाख्रा चरण गराउने महत्वपूर्ण क्षेत्र पनि हो । धवलागिरिको केन्द्रसमेत रहेको मुनादेखि पाँच घण्टा उकालो यात्रा गरेपछि मालिका धुरीमा पुगिन्छ । यहाँ होटल तथा रेष्टुरेन्ट नभएकाले पाहुना, पर्यटक र भक्तजनले खाने र बन्दोबस्तीका सामान आफैँ लैजानुपर्ने हुन्छ ।

पछिल्लो समय यहाँको विकासका लागि स्थानीय तह र प्रदेश सरकारले चासो देखाउन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडाअध्यक्ष रोकासहित जनप्रतिनिधि, पर्यटनकर्मी, सञ्चारकर्मी, स्थानीयवासी र गाउँपालिकाका कर्मचारीहरूको टोलीले केही दिनअघि मुना मालिकामा पुगेर पर्यटन प्रवर्द्धन कार्यक्रमसमेत गरिएको थियो ।



यसबाहेक यहाँ सडक निर्माणका लागि यस वर्ष प्रदेश सरकारबाट २० लाख र गाउँपालिकाबाट १५ लाख बजेट विनियोजन गरिएको छ । यसको कार्यान्वयनबाट यहाँको विकासमा टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । सडक निर्माणपछि एक घण्टाभन्दा कम समयमा यहाँ यात्रा गर्न सकिने वडाध्यक्ष रोकाले बताए ।

यात्राअवधि र बाटो छोट्याउन, देविस्थान, ताकमकोत र ढोरपाटनको जलजलासँग मुना मालिकालाई जोडेर पदमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययनको कामसमेत भइरहेको गाउँपालिकाले जनाएको छ ।



  • प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया