नेपाल सरकारले सन् २०२४ मा लक्ष्य अनुसार पर्यटक नेपाल भित्र्याउन नसकेको तथ्यांकले देखाएको छ । हालै मात्र अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ लाख ४७ हजार मात्र पर्यटक नेपाल आएका छन् ।
सरकारले पछिल्लो समय १३ लाख १५ हजार विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको थियो । तर त्यो लक्ष्य अनुसार सरकारले ११ लाख ४७ हजार मात्र पर्यटक भित्र्याएको छ । जसमा १ लाख ९६ हजार ८ सय जना पर्यटक अपुग हुँदा सरकारको लक्ष्य पूरा नभएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा कम्तीमा पनि १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको थियो । तर सन् २०२४ मा आएका विदेशी पर्यटकको संख्या हेर्दा सो लक्ष्य पूरा हुन नसक्ने देखिएको छ ।
सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५ सय ३३ जना विदेशी पर्यटक नेपालको भ्रमण गर्न आएका थिए । सन् २०२४ को अन्तिम महिना अर्थात् डिसेम्बरको ३१ तरिखसम्ममा ९५ हजार चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् भने सन् २०२४ को नोभेम्बर महिनामा १ लाख १४ हजार ५ सय १ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
जनवरी महिनामा ७९ हजार १ सय, फेब्रुअरीमा ९४ हजार ४ सय २६, मार्चमा १ लाख २८ हजार १ सय ६७, अप्रिलमा १ लाख ११ हजार ३ सय ७६, मेमा ९० हजार २ सय ११, जुनमा ७६ हजार ७ सय ३६, जुलाईमा ६४ हजार ५ सय ९९, अगस्टमा ७२ हजार ७ सय १९, सेप्टेम्बरमा ९६ हजार ३ सय ५ जना, अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३, नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ जना र डिसेम्बरमा लगभग ९५ हजार पर्यटक नेपाल आएका थिए ।
यसरी तथ्यांक हेर्दा सन् २०२४ डिसेम्बर ३१ को बिहानसम्ममा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ४७ हजार पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।