नेपालमा प्रथम श्रेणी अर्थात् फर्स्ट क्लास क्रिकेट प्रतियोगिताको आयोजना भएको बिरलै देख्न पाइन्छ । बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तानलगायत छिमेकी देशले भने नियमित प्रथम श्रेणी क्रिकेट प्रतियोगिता आयोजना गरिरहेका छन् ।
सोही कारण पनि ती टिमका खेलाडीसँग क्रिजमा धैर्य हुनसक्ने क्षमता छ । तर, नेपालमा भने प्रथम श्रेणी फर्म्याट क्रिकेट प्रतियोगिताको राम्रो अभ्यास छैन । नेपालले पछिल्लोपटक सन् २०१९ मा प्रथम श्रेणी क्रिकेट खेलेको थियो ।
सो वर्ष नेपालले घरेलु मैदानमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग तीनदिवसीय क्रिकेट खेलेको थियो । त्यसपछि भने नेपाली खेलाडीले फर्स्ट क्लास क्रिकेटको अनुभव लिन पाएका छैनन् । नेपालमा अझै पनि यो स्वरूपको प्रतियोगिता नियमित हुने टुंगो छैन ।
यद्यपि क्यानले भविष्यमा प्रथम श्रेणीको स्वरूप दिने योजनाका साथ यस वर्षदेखि दुईदिवसीय जय ट्रफी एलिट कपको आयोजना गर्दैछ । पुस २१ देखि वीरगञ्ज र जनकपुरमा आयोजना हुन लागेको प्रतियोगितामा लिग चरणको खेल दुई दिनसम्म चल्नेछ । क्यानका अनुसार फाइनल म्याच भने तीन दिन खेलाइने छ ।
प्रतियोगिता क्यानका पूर्वअध्यक्ष स्वर्गीय जयकुमार नाथ शाहको स्मृतिमा आयोजना हुन लागेको हो । यसअघि यो प्रतियोगिता एकदिवसीय जय ट्रफीको नाममा आयोजना हुन्थ्यो ।
सन् १९८० र ९० को दशकमा नेपाली क्रिकेटमा जय ट्रफी सर्वाधिक महत्वपूर्ण प्रतियोगिता मानिन्थ्यो । पछि भने यस प्रतियोगिताले निरन्तरता पाउन सकेन । यद्यपि अब भने थोरै परिमार्जित गरेर दुईदिवसीय जय ट्रफी एलिट कपको आयोजना गरिन लागिएको छ ।
चार टिमले खेल्ने यस प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लबसहित बागमती र मधेश प्रदेश प्रतिस्पर्धा गर्ने छन् । गत संस्करणको प्रधानमन्त्री कपको टप फोरभित्र परेकाले यी चार टिमले एलिट कप खेल्न लागेका हुन् । चारवटै टोलीबीच सिंगल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा हुने प्रतियोगितामा खेलाडी लामो समयपछि सेतो जर्सीमा देखिने छन् ।
यो सामग्री तयार पार्दासम्म एलिट कपका लागि बागमती प्रदेशले मात्र अन्तिम टिम घोषणा गरेको छ । उसले स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
सन्दीप बागमतीको कप्तानमा एक वर्षपछि फर्किएका हुन् । उनको कप्तानीमा बागमतीले गत वर्षको डिसेम्बरमा केपी ओली कप खेलेको थियो । त्यसपछि भने बागमतीको कप्तानी रित गौतमले गर्दै आएका थिए । उनको नेतृत्वमा प्रधानमन्त्री कपमा तेस्रो स्थान हासिल गरेकाले बागमतीले एलिट कप खेल्ने मौका पाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।