विश्व नै यतिबेला जलवायु परिवर्तनले निम्त्याउन थालेको असरको मारमा पिल्सिएको छ । विश्वव्यापी रूपमा तापमान र मौसमको स्वरूपमा लामो अन्तरालमा आउने परिवर्तन नै जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिमहरू आज विश्वभरि तीव्र र अप्रत्याशित रूपमा फैलिरहेका छन् । जसले भूमण्डलीय जलवायु संकटलाई थप गम्भीर बनाइरहेको छ ।
विभिन्न अध्ययनहरूले यो संकट बढ्दो गति र जटिलतासाथ फैलिरहेको र समाधानको प्रक्रिया सुस्त रहेको देखाएका छन् । जलवायुजन्य संकटको समाधान गर्न अब ढिलो गर्न नहुने भन्दै व्यापक आवाज उठिरहेको छ । प्रत्येक वर्ष तापक्रम र समुद्री सतहको वृद्धिले प्राकृतिक प्रकोपको संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ ।
संकटलाई समाधान गर्न विभिन्न देश र अन्तर्राष्ट्रिय संगठनहरूले कडा कदम चाल्नुपर्ने बहस पनि चर्किएको छ । जलवायुले सिर्जित प्रशस्त उदाहरणहरूका साक्षी हामी बनिरहेका छौँ । कालान्तरमा यसले निम्त्याउन सक्ने भयानक समस्याहरूले चिन्ता बढाएको छ ।
कालान्तरमा जलवायु संकटका समस्याले कतै पृथ्वी अनि यी मानव जातिकै अस्तित्व धरापमा हुने पो हो कि अर्को चिन्ता पनि छ । तिनै संकट समाधानका लागि आवश्यक कार्यको गति निकै सुस्त भएको आलोचना पनि उस्तै बढेको छ । जलवायु न्यायको पक्षमा विश्वव्यापी चासो र सक्रियता बढेको छ । अध्ययन अनुसन्धानहरूले डरलाग्दो तथ्यहरू प्रस्तुत गरिरहेका छन् । अध्ययनहरूले विश्वव्यापी रूपमा नै जलवायुजन्य संकटको चाप बढिरहेको देखाएका छन् ।
विश्व मौसम विज्ञान संठन (डब्लुएमओ)द्वारा प्रकाशित सन् २०२४ को जलवायु अवस्था प्रतिवेदनले जलवायुजन्य संकटलाई उजागर गरेको छ । सन् २०२४ को जनवरीदेखि सप्टेम्बरमा औसत तापमान औद्योगिक क्रान्तिअघि भन्दा १.५४ (०(१३ डिग्री सेल्सियसले बढी) डिग्री सेल्सियस भएको देखिएको छ ।
सन् १८५० देखि सन् १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १.४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १.३ डिग्री सेल्सियस मानव सिर्जित रूपमा तापमान वृद्धि भएको समेत अध्ययनले देखाएको छ । समुद्री तापक्रममा उल्लेखनीय वृद्धि भएको, बरफको कमी, ठूला आर्थिक र मानवीय क्षति भइरहेको भन्दै डब्लुएमओले प्रेस विज्ञप्ति नै जारी गरेको छ । संगठनले सन् २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा दर्ता हुने सम्भावना समेत औँल्याएको छ ।
यसले जलवायु परिवर्तनको तीव्र गति र यसको असरलाई थप प्रस्ट्याएको छ । एल निनो प्रभावले तापक्रम वृद्धि थप बढाएको संगठनको निष्कर्ष छ । संगठनको अध्ययनअनुसार समुद्री सहतमा पनि वृद्धि भई सन् २०१४ देखि २०२३ को अवधिमा वार्षिक ४.७७ मिमी बढेको छ ।
यसैगरी सन् २०२३ मा ग्लेसियरले १.२ मिटर पानी बराबरको बरफ गुमाएको र यो सन् १९५३ पछि सबैभन्दा उच्च बरफ पग्लिएको घटना हो । संगठनले उक्त उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेसँगै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो संकटबारे चिन्ता व्यक्त समेत गरेका छन् ।
‘जलवायु संकटले स्वास्थ्यमा समस्या, असमानतामा वृद्धि, दिगो विकासलाई बाधा पुर्याएको छ र शान्तिको जग हल्लाएको छ । सबैभन्दा बढी प्रभावित कमजोर वर्गहरू छन्’, उनले आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै भनेका छन्, ‘वातावरणीय संकटसँग जुध्नका लागि अहिलेको प्रयास नै भविष्यको सुरक्षा हो । जलवायु संकट समाधानका लागि तत्काल कार्य गर्न जरुरी छ ।’
महासचिव गुटेरेसले अत्यधिक गर्मीको समस्या समाधान गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई तीव्र बनाउन आग्रह गरेका छन् । चार प्रमुख क्षेत्रमा केन्द्रित हुन समेत उनको आह्वान छ ।
अत्यधिक गर्मीले सबैभन्दा बढी असर गरेका समुदायहरूलाई विशेष प्राथमिकता दिनुपर्ने, श्रमिकहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्दै कार्यस्थलहरूलाई गर्मी प्रतिरोधी बनाउने, अर्थतन्त्र र समाजको सुदृढीकरणका लागि तथ्यांक र विज्ञानको प्रयोगबाट अर्थतन्त्र र समुदायहरूलाई गर्मीसँग जुध्न सक्षम बनाउन उनको आह्वान छ ।
तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न जीवाश्म इन्धनको प्रयोग रोक्दै दिगो र स्वच्छ ऊर्जा स्रोतहरूमा लगानी बढाउने, नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि हरित ऊर्जा प्रणालीको विकासलाई तीव्र बनाउनुपर्नेमा उनको जोड छ ।
संगठनको अध्ययन अनुसार पछिल्लो समय जलवायु परिवर्तनले ल्याएको संकटका कारणल विश्वले रेकर्ड तोड्ने वर्षा तथा बाढी जस्ता मनसुनजन्य विपद्को सामना गर्नुपरेको छ । कैयौँ स्थानमा अत्यधिक वर्षा र बाढीले जनधनको ठूलो क्षति पुर्याएको छ । विश्वभर जलवायु संकटका कारण अत्यधिक गर्मी बढिरहेको छ । अझै बढ्ने क्रममा रहेको अध्ययनले देखाएको छ ।
विश्वको ७० प्रतिशतभन्दा धेरै श्रमिक (झण्डै २ अर्ब ४० करोड मानिस)अहिले चरम गर्मीको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । यीमध्ये सबैभन्दा कमजोर समुदायहरू सबैभन्दा धेरै प्रभावित भएको बताइएको छ ।
अध्ययनअनुसार श्रम क्षेत्रमा समेत नकरात्मक असर परिरहेको छ । नेपाल लगायतका अति कम विकसित मुलुकहरूमा अझै जलवायु परिवर्तनको जोखिम बढ्दो छ । यी मुलुकहरूको जलवायुजन्य जोखिम अनुकूलन तथा न्यूनीकरणका लागि लगानी गर्नसक्ने क्षमता कम छ । विश्वव्यापी रूपमा बढिरहेको तापमान वृद्धिको प्रभाव नेपालले पनि भोगिरहेको छ । भविष्यमा पनि अझै बढी भोगिरहने छ । बर्सेनि मुलुकले जलवायुजन्य संकटको सामना गरिरहेको छ ।
नेपालको मुख्य पहिचान बोकेका सेता हिमालहरू काला पत्थरमा परिणत हुने खतरा छ । हिमाली क्षेत्रमा पर्ने बाक्ला हिमपात अहिले पर्न छाडेको छ । अध्ययनहरू हेर्दा हिमालको पहिचान माथिको सुरक्षामा चुनौती खडा भएको छ ।
एसियाली विकास बैंक (एडीबी)को नयाँ अनुसन्धानले जलवायु परिवर्तनको प्रभावले विकासशील एशिया र प्रशान्त क्षेत्रमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी)लाई सन् २०७० सम्ममा १७ प्रतिशतले घटाउन सक्ने देखाएको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वको औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ ।
जलवायुले ल्याएका अन्य भयानक संकटहरू हामीले झल्दै आइरहेका छौँ । गत साउन ३२ गते सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढीले पुर्याएको क्षति पनि जलवायुजन्य संकटकै एउटा उदाहरण रहेको विज्ञहरूको भनाइ छ ।
गत असोज १०, ११ र १२ गते काठमाडौं उपत्यका लगायतका मुलुकका अधिकांश स्थानमा भारी वर्षाले ल्याएको विपद्ले धेरैले अकालमै ज्यान गुमाए र कयौँ अझै घाइते छन् । कति सर्वसाधरणलाई घरबारविहीन बनायो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार तीन दिनकै अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए ।
अठार जना अझै बेपत्ता छन् भने एक सय ७८ जना घाइते भएका छन् । झण्डै छ हजार निजी आवासमा क्षति पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । तीन वर्षअघि पनि बेमौसमी बाढीका कारण झण्डै आठ अर्बभन्दा बढी मूल्य बराबरको धानमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ । तीन वर्षअघि नै मनसुन सुरु भएको सातादिन नपुग्दै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र इन्द्रवती नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा दुई अर्बभन्दा बढी क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिको तथ्यांक छ ।
प्राधिकरणको तथ्यांकअनुसार यस वर्ष मनसुनजन्य विपद्का कारण मात्रै चार सय ९५ जानाले अकालमै ज्यान गुमाएका छन् भने ६६ जाना बेपत्ता र पाँच सय २२ जाना घाइते भएका छन् । जलवायुका यी र यस्ता ज्वलन्त उदाहरणहरू हामीसँग थुप्रै छन् ।
खाद्य सुरक्षामा चुनौती थपिएका छन् । पानीका मुहानहरू सुक्ने खतरा उत्तिकै बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ४७ ओटा ठूला हिमताल जोखिममा रहेको र यी हिमतालहरू फुटेमा मुलुकले खर्बौँ मूल्यको आर्थिक नोक्सानीका साथै मानवीय क्षति बेहोर्नुपर्ने छ । जोखिममा रहेका हिमतालमध्ये २५ वटा चीनमा, २१ वटा नेपालभित्रै र एउटा भारतमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।