logo-img

२५ वर्षमुनिका लेखकलाई नेपालयको अवसर

पब्लिकेसन नेपालयले सन् २०२५ भित्र २५ वर्षभन्दा कम उमेरका नेपाली युवाहरुको फरक विधाका तीनवटा पुस्तक प्रकाशन गर्ने भएको छ । त्यसका लागि पब्लिकेसनले विश्वभर रहेका नेपालीभाषी तथा नेपाली मूलका लेखकलाई खुला आह्वान गरेको छ ।  कथा, कविता र निबन्ध विधाका पुस्तकहरू हुनेछन् ।

आफ्नो स्थापनाको २०औँ वर्ष पुगेको अवसरमा सन् २००० यता जन्मेका लेखकलाई नेपालयले खुला आह्वान गरेको हो । नयाँ पुस्ताबाट नयाँ सम्भावनाको खोजी, संवर्द्धन र तिनको विकासमा आफूलाई संलग्न गराउने जमर्कोस्वरूप यो आह्वान गरिएको नेपालयले जनाएको छ।

नयाँ वर्षको आगमनसँगै ‘२०२५ मा २५ का २५’ मन्त्रसहित आह्वानको थालनी गरेको जनाइएको छ। ‘सन् २००० यता जन्मिएका जोसुकै नेपाली, नेपाली मूल वा नेपाली भाषी युवा पुस्ताले तीनवटै विधामा आफूलाई सरिक गराउन सक्छन्,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भने, ‘लेखकले नेपाली, नेपालभित्र बोलिने जुनसुकै भाषा वा अंग्रेजीमा आफ्ना सामग्री तयार पार्न सक्छन्।’



रचना बढीमा दुई हजार ५०० शब्दको हुनुपर्ने प्रावधान राखिएको छ। प्राप्त भएका रचनालाई लेखकहरू श्रवण मुकारुङ, भूषिता वशिष्ठ र नारायण वाग्ले सम्मिलित निर्णायक समितिले २५ वटाका दरले छनोट गर्नेछ। छनोटमा परेका लेखरचना विधागत हिसाबले तीनवटा फरक-फरक पुस्तकका रूपमा सन् २०२५ भित्रै नेपालयले प्रकाशन गर्नेछ।

पुस्तकमा अटाएका प्रत्येक लेखकलाई पब्लिकेसनको नियमअनुसार रोयल्टी प्रदान गरिने र केही लेखकसँग पुस्तक प्रकाशनका लागि सम्झौता पनि गरिने विज्ञप्तिमा उल्लेख छ। 





  • प्रकाशित मिति : पुस १७, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया