नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ ।
आज नेप्से परिसूचक पाँच दशमलव १० अङ्कले बढेर २ हजार पाँच सय ८१ दशमलव ६० को विन्दुमा पुग्दा कारोबार रकम भने साढे ३ अर्ब हाराहारीमा खुम्चिएको हो ।
आज ३ सय ९ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता शेयर ४३ हजार सात सय २९ पटक खरिदबिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार तीन सय ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो ।
मङ्गलबारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूह आज सम्हालिएर उच्च वृद्धि देखिएको छ । वित्त समूह तीन दशमलव ८७, विकास बैंक एक दशमलव ६८ र जलविद्युत् समूह एक दशमलव २४ प्रतिशतले बढेको छ ।
त्यस्तै, होटल तथा पर्यटन शून्य दशमलव ९५, लगानी शून्य दशमलव शून्य ९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, निर्जीवन बिमा शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव ६३ प्रतिशतले बढको छ ।
अरू समूहको उपसूचकमा भने गिरावट देखिएको छ । बैंकिङ शून्य दशमलव ७२, जीवन बिमा शून्य दशमलव शून्य छ, लघुवित्त शून्य दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको हो ।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड ८२ लाख १७ हजार तीन सय ४९ बराबरको शेयर खरिदबिक्री भएको छ ।
कारोबार भएका शेयर संख्यामा आधारमा सन्राइज ब्लुचिप फण्डको १७ लाख ३४ हजार ५ सय ८९ कित्ता शेयर किनबेच भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।