पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो फुटबल करियरको उत्तरार्द्धमा छन् । अब केही वर्ष मात्र मैदानमा उनको जादु देख्न पाइनेछ । हुन त उमेरले चार दशक पुग्नै लागे पनि रोनाल्डोको जोस १७ वर्षीय स्पेनिस युवा स्टार लामिन यामलको भन्दा कम छैन ।
मैदानमा अहिले पनि उनी टिमको प्रमुख हतियार मानिन्छन् । रोनाल्डोले प्रदर्शन राम्रै गरिरहेका छन् । समर्थक चाहन्छन्, उनले अझै कम्तीमा तीन वर्ष फुटबल खेलून् । रोनाल्डो पनि तत्काल संन्यास लिने मुडमा छैनन् ।
उनले गत सेप्टेम्बरमा भनेका थिए, ‘जब मैले राष्ट्रिय टोली छोड्छु । म पहिले नै कसैलाई बताउँदिन र यो मेरो तर्फबाट धेरै सहज निर्णय हुनेछ । तर, यो धेरै राम्रोसँग सोचेपछि मात्र हुनेछ । समय आएपछि अगाडि बढ्छु ।’
रोनाल्डोले संन्यास समय कहिले आउँछ त ? तत्काल त आउने सम्भावना कम छ । किनकी उनी हाल पनि उच्च लयमा छन् । तर, ढिलोचाँडो ‘रोनाल्डोले फुटबलबाट लिए संन्यास’ शीर्षकमा समाचार त अवश्य नै सुनिने/पढिनेछ ।
फुटबलकै लागि जन्मिएका यी स्टार संन्यासपछि के गर्लान् ? उनका समर्थकका मनमा कहिलेकाही यस्तै प्रश्न उब्जिन्छ होला । र, अब करोडौं समर्थकको यो जिज्ञासालाई ध्यानमा राख्दै रोनाल्डोले थोरै रहस्य खुलाएका छन् ।
केही दिनअघि दुबईमा आयोजित ग्लोबल सकर अवार्ड समारोहमा उनले सक्रिय खेल जीवनबाट संन्यास लिएपछि फुटबल क्लब खरिद गर्ने बताए । अर्थात् भविष्यमा रोनाल्डोलाई क्लब मालिकमा देख्न पाइने छ ।
‘मेरो भनाइ याद राख्नुहोस्, भविष्यमा म कुनै ठूलो क्लबको मालिक बन्नेछु,’ रोनाल्डोले भने । उनको भनाइअनुसार समर्थकले भविष्यमा रोनाल्डोलाई प्रशिक्षक अथवा व्यवस्थापनमा देख्न पाउने छैनन् ।
यस्तै, उनले साउदी अरेबियन लिग फ्रान्सको लिग वानभन्दा उत्कृष्ट भएको दाबीसमेत गरे । ‘लिग वानभन्दा साउदी लिग पक्कै राम्रो छ । फ्रान्ससँग केवल पिएसजी छ । बाँकी सबै टिम कमजोर छन् । ४० डिग्री सेल्सियस गर्मीमा खेल्न कोसिस गर्नुहोस् अनि थाहा हुन्छ,’ रोनाल्डोले भनेका छन् । उनी २ वर्षअघि सन् २०२५ सम्म लागि अल नासरमा अनुबन्धित भएका थिए । रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड पारिश्रमिक पाइरहेका छन् ।
यो विश्व फुटबल इतिहासमै हालसम्मकै सर्वाधिक बढी पारिश्रमिक हो । कीर्तिमानी पारिश्रमिक पाइरहेका रोनाल्डोले नासरलाई ठूलो प्रतियोगिताको उपाधि भने दिलाउन सकेका छैनन् ।
यद्यपि उनले व्यक्तिगतरूपमा भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । हालसम्म रोनाल्डोले अल नासरका लागि ८९ म्याच खेलेका छन्, त्यसक्रममा उनले ८० गोल गरेका छन् ।
रोनाल्डोले २०२४ को वार्षिक क्यालेन्डरको अन्तिममा आइपुग्दा ५१ खेलमा ४३ गोल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।