logo-img

झोलुङ्गे पुलले ल्याएको खुशी

भोजपुरको षडानन्द नगरपालिका-६ कुमालटार र खाँदबारी नगरपालिका-९ को जाेड्ने लम्सुवाघाट हुँदै अरुण नदी बग्छ । उक्त नदी वारपार गर्न डुंगा तथा गाडीको ट्यूबको सहायताले लिनुपर्ने बाध्यता थियो । तर अब उक्त बाध्यताको अन्त्य भएको छ ।

षडानन्द र खाँदबारी नगरपालिका जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि यहाँका स्थानीयलाई खुशी मात्रै मिलेको छैन । जोखिम मोलेर नदी वारपार गर्नुपर्ने झन्झटबाट पनि छुटकारा मिलेको छ । पुल बनेपछि अब उनीहरू सहज रूपमै नदी वारपार गर्न पाउने भएका छन् । पुल बनेपछि स्थानीयवासी तथा विद्यार्थीले काठको डुंगा र  गाडीका ट्यूबको सहायताले नदी पार गर्नुपर्ने बाध्यताकाे अन्त्य भएको छ ।

स्थानीयहरू हिउँदको समयमा  काठको डुंगा तथा ट्युबको सहायताले नदी पार गर्ने गरे पनि वर्षायाममा करिब तीनदेखि चार घण्टा घुमेर तुर्केघाट र सतिघाटबाट नदी तर्दै आएका थिए । आधारभूत विद्यालय मात्र रहेको षडानन्द कुमालटारका विद्यार्थीलाई अरुण नदी पार गरेर माध्यमिक शिक्षा लिन सङ्खुवासभाका विद्यालय जान समस्या हुने गरेकाे थियाे । अब त्याे समस्याबाट पनि विद्यार्थीहरूले उन्मुक्ति पाएका छन् । पुल बनेपछि विद्यार्थीकाे करिब आधा घण्टाकाे बाटाे छाेटिएकाे छ । पुल बनेपछि सहज रूपमा विद्यालय पुग्ने वातावरण बनेको षडानन्द नगरपालिका-६ का वडाध्यक्ष सुमन विसुन्केले बताए ।

पुल निर्माणले षडानन्द नगरपालिका-६, ७, ८, १०, ११ र १२ का स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको अध्यक्ष विसुन्केले जानकारी दिए । ‘लम्सुवाघाटमा संघीय सरकारको बजेटमा पक्की पुल निर्माणका लागि २०६४ सालमा शिलान्यास भएर काम सुरु भएको थियो’, वडाध्यक्ष विसुन्केले भने, ‘पुल बन्छ भन्ने आशामा हाम्रो करिब १७ वर्ष बित्यो । अहिले त्यो पुलको ठेक्का रद्द भएको अवस्थामा यहाँ झोलुङ्गे पुल निर्माणले हामीलाई राहत मिलेको छ ।’



नदीको बहावलाई ध्यानमा राखेर यहाँ ‘सस्पेन्सन एन’ डिजाइनमा पुल निर्माण गरिएको झोलुङ्गे पुल विषेशज्ञ तथा कोशी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयका सिभिल इञ्जिनियर लाल झाले बताए । यो पुलको ५० वर्ष डिजाइन अवधि रहेको उनको भनाइ छ ।

अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः मानिसको पैदल आवतजावत प्रयोजनका लागि निर्माण हुने भए पनि यहाँ भने मोटरसाइकल र तीन पाङ्ग्रे सवारी गुड्न मिल्ने गरी निर्माण गरिएको हो । कोशी प्रदेशका पहाडी जिल्लामा तीन पाङ्ग्रे सवारी साधन पार गर्ने सक्ने मापदण्डमा निर्माण भएको यो पहिलो पुल भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।



पूर्वाधार विकास कार्यालय अन्तर्गत कोशी प्रदेश सरकारको तीन करोड दुई लाख लागतमा पुल निर्माण भएको हो । लम्सुवाघाटमा संघीय सरकारको लगानीमा २०६४ सालबाट पक्की पुल निर्माण थालिएको थियो । करिब  चार करोड लागतमा सात वटा पिलर राखेपछि नदी बीचमा ठूलो चट्टान भेटिएसँगै यहाँ पक्की पुल निर्माण रद्द गरिएको थियो ।

प्राविधिक कारणले पक्की पुल निर्माण रोकिएपछि प्रदेश सरकारले  स्थानीयको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरेको हो । झोलुङ्गे पुल पाँच फुट चौडाइ र दुई सय तीन दशमलव ८ मिटर लम्बाइको रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए ।



‘लम्सुवाघाटमा कुनै किसिमको पुल नहुँदा स्थानीयवासीको दैनिकी कष्टकर थियो’ , प्रमुख रेड्डीले भने, ‘यहाँ पक्की पुल निर्माण ठेक्का रद्द भएपछि प्रदेश सरकारले झोलुङ्गे पुल निर्माण गरेको हो । पुल निर्माणपछि जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता हटेको छ ।’

पुल निर्धारित समयमै निर्माण सम्पन्न भएको निर्माण कम्पनी अधिकारी अप्पर तामाकोशी मुकुल जेभीका प्रतिनिधि सुरेस कार्कीले बताए  वि.सं २०७९ पुस २६ मा सम्झौता भएको पुलको निर्माण अवधि २०८१ पुस २५ सम्म थियो ।

  • प्रकाशित मिति : पुस १४, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया