प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाएपछि गत २८ असारमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत पाउन सकेनन् । योसँगै उनी नेतृत्वको सरकार ढल्यो ।
त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतका आधारमा नयाँ सरकार गठन गर्न आह्वान गरे । र, शेरबहादुर देउवाको समर्थनमा ओली प्रधानमन्त्री बने । उनले गठबन्धन सरकारको मन्त्रिपरिषदमा कांग्रेस, एमालेबाहेक लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका नेतालाई पनि समाविष्ट गरेका छन् ।
ओली चौथोपटक देशको नेतृत्व गरिरहेका हुन् । पहिलो कार्यकालमा सन्तोषजनक काम गरेको भनेर उनले जनताबाट राम्रै प्रशंसा पाए । तर, त्यसपछिको कार्यकालमा भने ओलीले प्रशंसाभन्दा बढी आलोचना खेपिरहेका छन् । चौथो कार्यकालसम्म आइपुग्दा ओलीविरुद्धको आलोचनाका स्वर बढेका छन् ।
ओलीले एक सातामा के–के गरे ?
प्रधानमन्त्री ओलीले यो साता पनि उद्घाटन, भाषण र एकअर्कालाई व्यंग्य गर्नमै बिताए । उनी ७ पुसमा विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालय सभाको अनौपचारिक बैठकमा सहभागी भए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार करिब तीन घण्टा भएको अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका थिए ।
प्रधानमन्त्री ओलीले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकार भएका पक्षसँग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषय प्रस्तावका रूपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए ।
गत २७ मंसिरमा कीर्तिपुरमा भएको त्रिविको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबीचको दूरी बढेको महसुस भएपछि कुलपतिसमेत प्रधानमन्त्री ओलीले विस्तृत छलफल गर्न ७ पुसमा समय निर्धारण गरेका थिए । सिनेट सदस्यका सुझाव सुनेपछि उनले पर्याप्त गृहकार्य र एक प्रकारको सहमति भएपछि औपचारिक बैठकमा प्रस्ताव ल्याउन आग्रह गरे ।
‘त्रिविको शैक्षिक क्यालेन्डर पालना हुनुपर्छ । अनौपचारिक बैठक भए पनि यसलाई निर्देशन नै मान्दा हुन्छ । विश्वविद्यालयमा पारदर्शिता हुनुपर्छ । मेरिटोक्रेसी कायम हुनुपर्छ । उत्कृष्ट भएकालाई उत्कृष्ट नम्बर दिइनुपर्छ । फेल भएकालाई फेल गराइनुपर्छ । मेरो भनाइ साँच्चैको मेरिटोक्रेसी होस् भन्ने हो । मलाई कुन डीनको कति मेरिटोक्रेसी छ मलाई थाहा छैन । को नियुक्त हुन्छ, त्यो मेरो रुचिको विषय होइन, मेरो रुचिको विषय यो विश्वविद्यालय सबल होस्, सक्षम जनशक्ति उत्पादन हुन् भन्ने हो । नियुक्तिमा मेरो कुनै हस्तक्षेप हुँदैन । निर्णय गर्ने पदाधिकारीले हो, त्यसकारण सफलता र असफलताको जस तपाईँहरूले लिनुपर्छ । कुलपतिका हैसियतले राम्रो गर्नुस् भन्ने मात्रै मेरो चासो हो । यसलाई पनि हस्तक्षेप मानिए त आश्चर्यबाहेक अरू के मान्न सकिन्छ र ?,’ प्रधानमन्त्री ओलीले प्रश्नको शैलीमा भने ।
यति मात्र होइन, प्रधानमन्त्री ओलीले त सत्ता गठबन्धन बनाउँदा नै देशमा सुशासन कायम गर्ने र संविधान संशोधन गर्ने एजेन्डासहित दुई ठूला दल कांग्रेस र एमाले मिलेको दाबीहरेक बैठकमा गर्दै आइरहेका हुन्छन् । उनले यो कुरा यस साता पनि दोहोर्याए ।
यस्तै, प्रधानमन्त्री ओलीले ९ पुसमा पाकिस्तानका राजदूतसँग शिष्टाचार भेट गरे । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषय व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भयो ।
उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको र यसमा आबद्ध मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले कुनै दुई मुलुकबीचमा आपसी समस्या हुन सक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुने बताउँदै नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको स्पष्ट गरे ।
यस्तै, प्रधानमन्त्री ओलीले ११ पुसमा २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गरे । त्यहाँ पनि प्रधानमन्त्री ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने भनेर भाषण ठोकेरै फर्किए ।
उनले सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने जनाउँदै उनले जमिन सुक्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिए ।
यस्तै, प्रधानमन्त्री ओलीले १२ पुसमा तीन विश्वविद्यालयका उपकुलपतिलाई सपथ खुवाए । सोही दिन नै उनले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रूग्ण उद्योगको प्रभावकारी सञ्चालन र रोजगारी वृद्धिका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिए ।
प्रधानमन्त्री ओलीले समृद्धिको यात्रामा लाभ पुग्ने, आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने दिशामा ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन त्यहाँ पनि दिए ।
शुक्रबार नै प्रधानमन्त्री ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्नुपर्नेलगायत सात सूत्रीय ध्यानाकर्षणपत्र बुझायो ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक गत २४ माघ २०८० पश्चात् नबसेकाले अघिल्लो बैठकमा पेस भइ निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने माग गरियो ।
प्रधानमन्त्री ओलीले संविधानबमोजिम स्थानीय सरकारलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको काम नगरी आश्वासन मात्र दिए ।
यस्तै, शुक्रबार प्रधानमन्त्री ओलीले एमाले जिल्ला कमिटी बझाङले बुझाएको ११ बुँदे मागपत्र बुझे । बझाङको पूर्वाधार विकास तथा जनताको आर्थिक रुपमा जीवनस्तर उकास्नका लागि योजना छनोट तथा बजेट विनियोजनका लागि ११ बुँदे माग पत्र बुझाएको एमाले जिल्ला कमिटी उपसचिव पंकज भण्डारीले जानकारी दिए ।
मागपत्रमा खुटिया–दिपायल–चैनपुर–ताक्लाकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी यथेष्ट बजेट विनियोजन गर्नुपर्ने, भुकम्पबाट क्षति भएका विद्यालयहरूको पुनर्निर्माणका लागि बजेट विनियोजन तथा निकासा गरिनुपर्ने माग गरिएको छ ।
मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले जिल्ला अधिवेशन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै बधाई तथा धन्यवाद व्यक्त गरे । उनले सो मागप्रति सकारात्मक रहेको भन्दै कार्यान्वयनका लागि प्रतिवद्धतासमेत जनाए ।
यस्तै, १३ पुस अर्थात् आज (शनिबार) प्रधानमन्त्री ओली त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा सहभागी हुँदै छन् ।
देशमा संकट देखिएकाले कांग्रेससँग मिल्नु परेको बताउने प्रधानमन्त्री ओलीले राष्ट्रिय महत्वका काम जोड दिनुपर्ने ठाउँमा सामान्य उद्घाटन र भाषणमै आफ्नो समय खर्च गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।