नेकपा एमालेका नेता डा. भीम रावलले आफू विधि,पद्धती र सत्य तथ्यको पक्षमा उभिँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यबाट निस्कासन गरेको जनाएका छन् ।
उनले बिहीबार समाजिक सञ्जाल एक्समा स्टाट्स लेख्दै आफूलाई पार्टी सदस्यबाट हटाउने ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय भएको जनाएका छन् ।
रावलले नेकपा एमालेको निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि आफू निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोसमेत उल्लेख गरेका छन् ।
बुधबार बसेको नेकपा एमाले सचिवालय बैठकले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेपछि रावलले आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा अपिल गरेका छन् । नेता रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा समर्थन खोजेका हुन् ।
पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई उनले ओलीको सत्ता उन्माद, निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय भनेका संज्ञा दिएका छन् ।
उनले एक्समा लेखेका छन्, ‘सबै देशभक्त, न्याय प्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु ।’ एमालेको उक्त सचिवालय बैठकले नेतृ उषाकिरण तिम्सेना र स्थायी कमिटी सदस्य विन्दा पाण्डेलाई ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णयसमेत गरेको थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।