logo-img

एनपिएलमा कार : दीपेन्द्रले किन पाए, ललितले किन पाएनन् ? [भिडियोसहित]

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को च्याम्पियन टिमको टुंगो लागिसकेको छ । र, टुंगो लागिसककेको छ कार जित्ने खेलाडीको पनि । तर, चर्चा भने अझै सेलाएको छैन ।

चर्चा जारी रहनुको कारण हो, च्याम्पियन टिमका खेलाडीले कार नजित्नु । धेरै क्रिकेट समर्थकको आकलन थियो, उपाधि जित्ने टोलीका खेलाडीले कार पनि पाउने छन् । तर, फाइनलको नतिजापछि कार उपविजेता सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले जिते ।

कार पाउने फाइनल दौडमा उनी र जनकपुर बोल्ट्सका सर्वाधिक विकेटकर्ता ललितनारायण राजवंशी थिए । यी दुवै खेलाडीले एनपिएलमा उत्कृष्ट प्रदर्शन गरे । र, ललित र दीपेन्द्रले कार दाबेदारको सूचीमा आफूहरूलाई अन्तिम समयसम्म राखिराखे ।



नेपाल क्रिकेट संघ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्तरूपमा एपिएलमा उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए ।

सोहीअनुसार दीपेन्द्रले करिब ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभको कार उपहार पाए । उनले कार जितेपछि ललितका समर्थकले भने असन्तुष्टि पोखेका छन् । कार जित्न नसके पनि उनले १० लाख रुपैयाँ पर्ने मोटरसाइकल उपहार भने पाए । 



उनले एनपिएलमा कुल ४० ओभर बलिङ गरे । ललितले २० ओभर पावर प्ले तथा सात ओभर डेथ ओभरमा बलिङ गरे । समग्रमा उनले १० खेलमा ५.३२ को सानदार इकोनमीमा १७ विकेट लिए ।



ललित सर्वाधिक विकेट लिने सूचीको संयुक्तरूपमा शीर्ष स्थानमा रहे । ललित १० मध्ये एक खेलमा मात्र विकेटविहीन बने । लिगमा उनको उत्कृष्ट बलिङ ८ रन दिएर तीन विकेट लिनु हो ।

यदि फाइनलमा बढी विकेट लिन सकेको भए ललितले कार जित्ने सम्भावना बलियो थियो । उनले फाइनलमा ४ ओभरमा एक मेडनसहित १५ रन खर्चेर एक विकेट हात पारे ।

ललित ब्याटिङभन्दा बढी बलिङका लागि परिचित छन् । एउटा विधाबाट मात्र बढी योगदान दिएकाले पनि उनले कार जित्न नसकेको आकलन गरिएको छ । साथै, ललित एक खेलमा मात्र ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए । 

कुन टिमविरुद्ध कस्तो प्रदर्शन ? 

उनले एनपिएलमा पहिलो खेल विराटनगर किंग्स खेलेका थिए । उक्त खेलमा ललितले २८ रन खर्चेर तीन विकेट लिए । दोस्रो खेलमा ललितले कर्णाली याक्सविरुद्ध १६ रन दिएर एक लिँदा तेस्रो खेलमा पोखराविरुद्ध ३१ रन दिएर तीन ब्याटरलाई पवेलियन फर्काए । चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध उनले १३ रन दिएर एक विकेट हात पारे । 

ललित पाँचौं खेलमा सुदूरपश्चिमविरुद्ध भने विकेटविहीन बने । त्यस खेलमा उनले बिनाविकेट ३२ रन दिए । छैटौँ खेलमा भने ललितले उत्कृष्ट कमब्याक गरे । 

काठमाडौं गुर्खाजविरुद्धको उक्त खेलमा उनले ४ ओभरमा २ मेडनसहित ८ रन मात्र दिएर तीन विकेट लिए । त्यस खेलमा ललित ‘प्लेयर अफ द म्याच’ घोषित भए । यस्तै, लिग चरणको अन्तिम खेलमा चितवन राइनोजविरुद्ध उनले ११ रन दिएर २ विकेट हात पारे ।  

क्वालिफायर वानमा सुदूरपश्चिमविरुद्ध ललितले ४ ओभरमा ३७ रन दिए एक विकेट लिए । यस्तै, कर्णालीविरुद्ध खेलिएको क्वालिफायर–२ मा उनले ४ ओभरमा २२ रन दिएर दुई विकेट लिए । फाइनलमा सुदूरपश्चिमविरुद्ध ललितले ४ ओभरमा १५ रन खर्चेर एक विकेट हात पारे । ब्याटिङ र फिल्डिङबाट भने उनले उल्लेखनीय योगदान दिन सकेनन् ।    

दीपेन्द्रको प्रदर्शन 

दीपेन्द्र कुनै पनि विधामा प्रथम भएनन् । यद्यपि उनले ती सबै विधामा लगभग समान योगदान दिए । बलिङ/ब्याटिङ, कप्तानी र फिल्डिङमा उनले राम्रो प्रदर्शन गरे । दीपेन्द्रले ब्याटिङमा ९ खेलमा १६०.९९ को स्ट्राइक रेटमा २ सय २७ रन बनाए । त्यसक्रममा उनले एक अर्धशतकीय पारी खेले ।

दीपेन्द्रले बलिङमा सात इनिङ्समा ७ को इकोनमीमा ९ विकेट लिए । दीपेन्द्रको कप्तानीमा सुदूरपश्चिमले ९ मध्ये ७ मा जित र दुई खेलमा मात्र हार बेहोर्‍यो । साथै, उनी लिगमा दुई खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिए । सोही कारण पनि दीपेन्द्रलाई कार जित्न सहज भयो ।   

कुन टिमविरुद्ध कस्तो प्रदर्शन ? 

दीपेन्द्र पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेर ‘प्लेयर अफ द म्याच’ चुनिए । विराटनगरविरुद्धको उक्त खेलमा टिमलाई ९० रनले जिताउन उनको भूमिका प्रमुख रह्यो । त्यस खेलमा दीपेन्द्रले २४ बलमा पाँच छक्का र तीन चौकासहित अविजित ५७ रन बनाए । 

बलिङमा उनले २ ओभरमा बिनाविकेट ९ रन खर्चिए । विराटनगरविरुद्ध फिल्डिङमा दीपेन्द्रले एक ब्याटरको क्याच पक्रिए । दोस्रो खेलमा काठमाडौंविरुद्ध पनि दीपेन्द्रको प्रदर्शन उत्कृष्ट रह्यो । उक्त म्याचमा उनले २५ बलमा तीन चौका र दुई छक्कासहित ४३ रन बनाए ।     

काठमाडौंविरुद्ध दीपेन्द्रले उत्कृष्ट फिल्डिङ गर्दै एक ब्याटरलाई पवेलियन फर्किए । उक्त खेलमा उनले बलिङ भने गरेनन् । तेस्रो खेलमा लुम्बिनीविरुद्ध ऐरीले ब्याटिङमा १९ बलमा चार चौका र दुई छक्कासहित अविजित ३९ रन बनाए । उक्त म्याचमा उनले फिल्डिङमार्फत एक ब्याटरको क्याच पक्रँदा बलिङ गरेनन् । 

दीपेन्द्रले चौथो खेलमा ब्याटिङमा २ बलमा एक रन मात्र जोडे । बलिङमा उनले ४ ओभरमा ३२ रन दिएर एक विकेट लिए । चितवनविरुद्धको उक्त खेलमा ऐरीले रवि बोपारालाई पवेलियन फर्काएका थिए ।  

पाँचौं खेलमा जनकपुर बोल्ट्सविरुद्ध दीपेन्द्र ब्याटिङमा शून्यमै आउट भए पनि बलिङमा चम्किए । उक्त खेलमा उनले तीन ओभरमा २७ रन दिएर महत्वपूर्ण २ विकेट लिए । त्यस म्याचमा ऐरीले आसिफ शेख र जिमी नीशमलाई पवेलियनको दिशा देखाए । जनकपुरविरुद्ध उनले एक ब्याटरको क्याच पनि पक्रिए ।  

छैटौँ खेलमा ऐरीेले पोखराविरुद्ध १६ बलमा एक छक्कासहित २० रन जोडे । बलिङमा उनले ४ ओभरमा बिनाविकेट १८ रन खर्चिए । लिग चरणको अन्तिम खेलमा अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्र दोस्रोपटक ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

कर्णालीविरुद्धको उक्त खेलमा उनले ब्याटिङमा २९ बलमा चार चौका र एक छक्कासहित ३८ रन बनाए । बलिङमा उनले ४ ओभरमा २० रन दिएर महत्वपूर्ण २ विकेट लिए । साथै, उनले देव खनाल र गुलशन झालाई रनआउट गरे । क्वालिफायर खेलमा पनि दीपेन्द्रको अलराउन्ड प्रदर्शन देखियो ।

जनकपुरविरुद्धको उक्त म्याचमा उनले बलिङमा चार ओभरमा २९ रन दिएर तीन विकेट लिए । फाइनलमा दीपेन्द्र ब्याटिङमा ७ बलमा ९ रन बनाउँदा बलिङमा ४ ओभरमा ४० रन दिएर एक विकेट हात पारे । फिल्डिङमा उनले आकाश त्रिपाठीलाई रनआउट गरे । 

यो पनि 

एनपिएललगत्तै विदेशी लिगमा, गर्ने छन् एकअर्काको सामना [भिडियोसहित]

एनपिएलको प्रदर्शनले राष्ट्रिय टिममा कमब्याक गर्नसक्ने पाँच खेलाडी [भिडियोसहित]

यी चार युवा क्रिकेटर, जसले एनपिएलमा प्रभावित पारे [भिडियोसहित]

एनपिएल सफलताका ‘नायक’ पारस खड्का ? [भिडियोसहित]

  • प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया