logo-img

सचेत हुनू, तातोपानी र हिटरले छालामा समस्या ल्याउँछ : डा‍. श्रेष्ठ [अन्तर्वार्ता]

जाडो मौसममा छालाको विशेष ख्याल गर्नुपर्छ । पानी कम खानुका साथै सुक्खा हावाका कारण जाडोमा छाला खस्रो हुने तथा फुट्ने बढी हुन्छ । यो याममा मौसममा हावाले शरीरमा भएको पानी चाँडै सोस्ने भएकोले छाला सुक्खा बनाउँछ । जाडो मौसममा वृद्धवृद्धा र युवालाई छालासम्बन्धी बढी समस्या देखा पर्ने गरेका स्वास्थ्यकर्मी बताउँछन् । प्रस्तुत छ, छालासम्बन्धी समस्या र समाधानका विषयमा केन्द्रित भएर शुक्रराज ट्रपिकल अस्पतालमा कार्यरत छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ डा. अमृता श्रेष्ठसँग नेपाल न्यूज बैंककी प्रमिला कार्कीले  गरेको कुराकानी  :   

जाडो महिनामा बढी मात्रामा स्किन केयर गर्नु किन आवश्यक छ ? 

स्किन केयर दैनिक जीवनमा एकदमै महत्वपूर्ण काम हो । किनभने छाला हाम्रो शरीरको सबैभन्दा ठूलो पाटो हो । हामीभित्र कुनै पनि रोग छ भने त्यसको असर पनि शरीरमा देखिन्छ र छालामा पनि देखिनसक्छ । छालामा देखिने कतिपय कुरा भित्र न्यूट्रिस्नल डिफिसेन्सिले पनि गराउँछ । जस्तैः आइरनको कमी भयो भने कपाल झर्ने, ओठको वरिपरि घाउ आउने गर्छ । त्यस्तै, धेरै तनाव लिने गरेको छ भने पनि छालामा असर पर्छ । अन्य रोगका कारण पनि छालालाई नै असर गर्छ । दुबी जस्ता समस्या छालामा देखिन्छ त्यही भएर छाला एकदमै महत्वपूर्ण हुन्छ । 

छालाको हेरचाह भन्नेबित्तिकै सुन्दरता भन्ने बुझ्ने चलन छ । स्किन केयर केका लागि महत्वपूर्ण छ ?



स्किन केयरलाई खाली सौन्दर्यसँग जोडेर मात्र हेर्न हुँदैन । कुनै पनि विधामा राम्रो हुनको लागि पहिला छाला राम्रो देखिनुपर्छ, मान्छेको आत्मविश्वास नै छालाबाट हुन्छ । त्यसले मानिसले स्किन केयरलाई मात्र डर्माटोलोजी मानिएको छ । तर, यसको धेरै प्रकार र पाटोहरू छन् । बच्चाहरूको लागि पनि छुट्टै डर्माटोलोजी भन्ने छ, इन्फेक्सन जस्ता रोगको आफ्नै पाटो छ । यस्तैगरी यौन सञ्चारित रोग (एसटीआई) अर्थात् यौनिक रोगको पनि छालामा नै असर देखिन्छ । यी सबै कुराले हेर्दा स्किन केयर एकदमै महत्वपूर्ण हुन्छ । 

यसमा सबैभन्दा महत्वपूर्ण भनेको मोस्जराइजर, सनस्क्रिन, भिटामिन ‘सी’ सेरम, अन्य सेरम प्रयोग गर्नु राम्रो हुन्छ । त्यसैगरी केमिकल पिल हप्ता वा महिनामा प्रयोग गर्नुभयो भने अझै फाइदा हुन्छ । अनुहारलाई सूर्यको किरणबाट बचाउनुपर्छ । पूरै ज्यानलाई नै भन्न मिल्दैन, फेरि भिटामिन ‘डी’को कमी हुनसक्छ । तर, अनुहारमा चायापोतो नआओस् भन्नको लागि, डन्डिफोरको दाग नबसोस् भन्नको लागि फेसलाई घामबाट बचाउनु आवश्यक हुन्छ । 



डा. अमृता श्रेष्ठ

जाडो महिनामा नै धेरै किन स्किनमा समस्या देखिन्छ ?



चिसो धेरै हुने हुँदा छालामा मोइस्चरको कमी हुन्छ । मोइस्चरको कमी भइरहेको हुन्छ त्यसमा ड्राइ हावाले गर्दा तातो पानीले नुहाउने, हिटरमा बस्ने गर्छौ यसले छालाको लिपिड्स कम गराउँछ । छालालाई सुरक्षित गर्ने तत्वको कमी पनि गराउँछ । त्यसले गर्दा छाला सुख्खा हुने र विभिन्न समस्या निम्ताउँछ । त्यही भएर मोस्जराइजर प्रयोग गरेर छालाको मोइस्चरलाई सन्तुलनमा राख्नु अझै महत्वपूर्ण हुन्छ । 

नुहाउने समयलाई घटाउने, तातो पानीले धेरै समय ननुहाउने, धेरै सुगन्ध भएको साबुन प्रयोग नगर्दा राम्रो हुन्छ । धेरै सुगन्ध भएको साबुनले पनि एलर्जी गराउँछ । साबुन प्रयोग गर्दा पनि ग्लिसिरिन भएको शुद्ध खालको साबुनले छालालाई मोइस्चर गराउन सक्छ । लाइफबोइ साबुन सबैले प्रयोग गर्नुहुन्छ । तर, त्यसमा मोइस्चरको मात्रा कम हुन्छ ।  

जाडोमा कुन उमेर समूहको मानिसको स्किनमा बढी असर हुन्छ ?

चिसोले बुढाबुढी र युवाहरूलाई बढी असर गर्छ । बच्चाको छाला बन्ने क्रममा नै हुने भएकाले धेरै समस्या नदेखिएला । यस्तै, बुढाबुढीहरुको जति उमेर बढ्दै गयो छाला चिल्लो बनाउने ग्रन्थी कम हुँदै जान्छ । त्यही भएर जति उमेर भयो त्यति ड्राइनेश बढ्छ । चिसोमा केयर गर्नुपर्ने स्किन भनेको दुई उमेर समूहको हो । 

पुरुष र महिलाहरूको स्किनमा देखिने समस्यामा के फरक हुन्छ ?

प्रायः त दुवैमा उस्तै खाले नै समस्या देखिने गर्छ । कतिपय अवस्थामा मोइस्चराइजर कन्टेन्ट दुवैको स्किनमा कमी हुन्छ । किनभने जाडोमा झन धेरै मात्रामा इन्टरनल हिटरको प्रयोग गर्छौँ । त्यसले गर्दा छाला एकदमै खस्रो हुने हुन्छ । धेरै मात्रामा मोइस्चराइजर प्रयोग गर्नुपर्छ । 

खानेकुरामा पनि ध्यान दिनुपर्छ ?  

जाडो महिनामा पनि पानी बढी मात्रामा पिउनुपर्छ । दिनमा तीनदेखि चार लिटर पानी चाहिँ पिउनैपर्ने हुन्छ । जाडोमा पिसाब धेरै लाग्छ भनेर मानिस पानी नै कम पिउने गर्नुहुन्छ । त्यसो गर्नु हुँदैन । ताजा फलफूल र तरकारी  पनि बढी खानुपर्छ । तनाव चाहिँ कम लिनुपर्ने हुन्छ । र, नियमितरूपमा व्यायाम गर्नुपर्छ । स्किन केयरकै लागि पनि यो सबै गर्न आवश्यक छ । 

घरमा बसेर स्किन केयर कसरी गर्न सकिन्छ?

घरमै बसेर स्किन केयर गर्दैगर्दा सबैभन्दा पहिला त राम्रो खालको फेसवास मात्र प्रयोग गर्नुपर्ने हुन्छ । फेसवासपछि अर्को महत्वपूर्ण कुरा भनेको मोइस्चराइजर नै हो । मुख धोएपछि अनुहारमा राम्रोसँग मोस्टाइज गर्नुपर्ने हुन्छ । र, अर्को छुटाउन नहुने कुरा भनेको सनस्क्रिन हो । सनस्क्रिन चाहिँ दिनमा दुई–दुई घण्टाको अन्तरमा अनुहारमा र घाँटीमा लगाउनुपर्छ । बाहिर घाममा निस्कदा मात्र नभएर भित्रै बस्दा पनि आफ्नो स्किनको अवस्था हेरेर एसपीएफ ३० देखि ५० सम्मको सनस्क्रिन लगाउनुपर्छ । धेरै चाया पोतो आउने स्किन छ भने ५० एसपीएफको चाहिन्छ । नभए अरू स्किनमा ३० कोले नै पुग्छ । सबैभन्दा महत्वपूर्ण कुरा पानी धेरै पिउने, जङ्क फुड नखाने र स्वास्थ्य जीवनशैली बिताउनु नै हो । 

स्किनलाई हेरचाह गर्ने नाममा बजारमा पाइने जुन पायो त्यही उत्पादनको पनि प्रयोग गरिएको पाइन्छ । यसबाट जोगिन के गर्ने ?

स्किनको केयर गर्ने नाममा झनै आफ्नो स्किनलाई बिगार्ने काम त गर्नु हुँदै हुँदैन । यससम्बन्धी केही ज्ञान नै छैन भने एकपटक आएर डाक्टरसँग भेट्न उपयुक्त हुन्छ । तर, अहिलेको जमानामा प्रायः सबैको हातमा मोबाइल फोन छ । सञ्चार माध्यम, फेसबुक, टिकटकतिर छालासम्बन्धी जानकारी राखिएको हुन्छ । त्यसरी पनि थाहा पाउन सकिन्छ । जथाभाबीरूपमा औषधि प्रयोग गरेर स्किनलाई बिर्गान भन्दा डर्माटोलोजिष्टको सुझावलाई आत्मसाथ गर्नु नै उचित हुन्छ । 

तपाईं आफैंमा एक डर्माटोलोजिस्ट हुनुहुन्छ । तपाईंले चाहिँ आफ्नो स्किनलाई कसरी हेरचाह गरिराख्नु भएको छ ?

बिहान उठेर मुख धुन्छु । मुख धुन क्लिनजर या त फेसवास प्रयोग गर्छु । मैले प्रयोग गर्ने फेसवास र क्लिनजर चाहिँ सिजनअनुसार परिवर्तन गर्ने गर्छु । क्लिनजरभन्दा पनि जाडो महिनामा बढी क्लिनजर नै प्रयोग गर्ने गर्दछु । गर्मी महिनामा फेसवास प्रयोग गर्छु । मासिक केमिकल पिल गरिरहेको हुन्छु । साधारणतया मोइस्चराइजर, सनस्क्रिन त प्रयोग गर्ने नै भइहाले तर समय मिलेसम्म सनस्क्रिन चाहिँ प्रत्येक दुई घण्टामा लगाउने गर्छु । 

बच्चालाई पनि सनस्क्रिन लगाइदिने गरेको देखिन्छ । बच्चाले सनस्क्रिन प्रयोग गर्नु कत्तिको उचित छ ?

कतिपयले नबुझेर बच्चालाई पनि ठूला मान्छेले प्रयोग गर्ने सनस्क्रिन प्रयोग गराएको देखिन्छ । तर, त्यसो गर्नु हुँदैन । दुई वर्षभन्दा मुनिका बच्चाले त सनस्क्रिन प्रयोग गर्नै हुँदैन । दुई वर्षपछिको बच्चाको लागि किड्स सनस्क्रिन भनेर छुट्टै पाइन्छ । नत्र जे पायो त्यही प्रयोग गरियो भने बच्चाको छालामा दीर्घकालीन असर देखिन्छ  । 

विशेषगरी जाडोमा स्किन केयर एकदमै आवश्यक छ । जुनसुकै उमेरका व्यक्तिले छालाको राम्रो हेरचाह गर्नु आवश्यक छ । नुहाउनेबित्तिकै स्कीनमा मोइस्चराइज गरिहाल्नुपर्छ अनि स्किन ड्राइ हुने समस्या कम हुन्छ । हाइपोथाइरोटिज्मदेखि विभिन्न रोगसँग सम्बन्धित स्किनमा ड्राइनेस आउँछ । त्यसैले लामो समयदेखि स्किनमा ड्राइनेस छ भने मोइस्चराइजर लाएर मात्र बस्न हुन्न । डाक्टरसँग भेटेर टेस्ट पनि गर्नुपर्छ, परामर्श लिनुपर्छ । 

  • प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया