logo-img

देशको जिम्मा अब कांग्रेसले लिन्छ, आफ्नो जिम्मेवारीबाट भाग्दैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि चाँडै संयन्त्र बनाउने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस एक सय दिने अभियान कार्यक्रममा बोल्दै उनले सरकारमा रहेका दुई ठूला राजनीतिक दलहरू कांग्रेस र एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताएका हुन् । 

उनले कांग्रेसले र एमाले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरूसँगको समझदारीबाट संशोधन गर्ने जानकारी दिए । 

‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । अब केही दिनभित्रमा नेपाली काँग्रेस र नेकपा एमालेले एउटा संयन्त्र बनाउँछ । त्यो संयन्त्र बनाएर यसलाई पनि हामी सम्हाल्छौँ । किनकि धेरै एड्भेन्चर गर्ने ठाउँ छैन । यसलाई सम्हालेर काँग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्यूनतम संविधानमा चलाउनुपर्ने, चलाउन सक्ने विषयमा समझदारी कायम गर्छौँ र त्यसपछि अरू राजनीतिक दलहरूसँग संवाद गर्छौँ ।’ 

उनले अगाडि थप भने, ‘यो संविधान भनेको कांग्रेस एमालेले चाहेर मात्रै संशोधन हुने कुरा होइन । हामी माओवादी, मधेसका अरू दलहरूसँग संवाद गर्छौँ । दलहरूको बीचमा समझदारी बनाउँछौँ र न्यूनतम कुराहरू संशोधन गर्छौँ । एउटा राजनीति दलले निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेला पनि अर्को एउटा सानो दलसँग टाँसिन जानुपर्ने जुन एउटा बाध्यता छ त्यसबाट संविधानलाई बाहिर निकाल्न पर्नेछ ।’



उनले २०८४ को चुनावको कुरा गर्दैगर्दा जिम्मेवारीबाट भाग्न नपाइने बताए । कांग्रेसले तीन वर्षमा ०८४ मा यो यो गर्यौँ भन्ने हैसियत बनाएर जानुपर्ने भन्दै सरकारको धेरै फेरबदल र  चकचक गर्ने च्याप्टर बन्द गर्नुपर्ने धारणा बताए । उनले जिम्मेवारीबाट नभागरे अब कांग्रेसले देशको जिम्मा लिने दाबी गरे । 

उनले भने,‘२०८४ को कुरा गर्दैगर्दा के कुरा गर्न पाइन्न भने ०८१–०८२–०८३ को जिम्मेवारीबाट भाग्न पाइँदैन । सरकारमा बसेको मानिसले सरकारमा बसेर काम गर्छ । २०७९ सालको चुनावमा नेकपा एमाले पनि गयो, कांग्रेस पनि गयो, माओवादी गयो । मिलेर चुनाव लड्यो । यी सबै कुराको बिचमा सबै चुनावमा जाँदै गर्दा कसैले पनि जिम्मा लिएनौँ । सबैले पाँच वर्ष वरवाद भयो, अब म राम्रो गर्छु भन्यौँ, पाँच वर्षको जिम्मा लिने कोही भएन । तर ०८४ को चुनावमा त्यस्तो गर्न पाइँदैन । जिम्मा लिनुपर्छ । कसले लिने भन्दा हाम्रो पार्टीले जिम्मा लिएर जानुपर्छ ।’  





  • प्रकाशित मिति : ५ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया