logo-img

बाजुरा भूकम्प अपडेट : आठ घरमा क्षति, थप विवरण संकलन जारी
फाइल तस्वीर

बाजुराको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ । 

नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले सङ्कलन गरेको तथ्याङ्कअनुसार आठ घर पूर्णरूपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक गरिएको हो ।  

जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारीअनुसार बूढीनन्दा नगरपालिका–२ मा स्थानीय कल्पना बुढाको दुई तले घर, वडा नं ४ मा स्थानीय जनक बोहरा, वडा नं ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पूर्ण क्षति भएको छ । 

यस्तै, सोही नागरपालिका–३ मा स्थानीय धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा, मानसिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ । सोही ठाउँको कैलाश अतिथि गृहको भवनमा पनि क्षति भएको छ । 



जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी जनकबहादुर बोहराले भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका–१ का स्थानीय दशरथ विक, आनन्द विक, चम्फे विक र मन विकको घरमा पनि क्षति भएको बताए । 

भूकम्पको केन्द्रविन्दु रहेको गोत्रीमा १ सय २३ परिवार जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । सोही विवरणबारे वडा नं ५ कार्यालयबाट जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस प्राप्त भएको निमित्त प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले जानकारी दिए । 



वडा कार्यालयबाट आएको विवरण अन्य स्रोतबाट पनि यकिन गर्ने काम भइरहेको उनले बताए । यहाँका अन्य पालिकामा भएको क्षतिको विवरण स्थानीय प्रहरी चौकीमार्फत सङ्कलन भइरहेको जनाइएको छ ।

प्रभावितलाई चिसोबाट जोगाउन तत्काल राहत र उद्धारका कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग छ । नागरिक समाजका अगुवा दीर्घराज पाध्यायले समस्यामा परेकाहरूलाई तत्काल अत्यावश्यक सहयोग सामग्री उपलब्ध गराउन आग्रह गरे । 



  • प्रकाशित मिति : ५ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया