logo-img

सुदूरपश्चिमलाई हराउँदै जनकपुर बन्यो एनपिएल च्याम्पियन, जित्यो १ करोड १० लाख

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो ।

योसँगै उसले १ करोड १० रुपैयाँमा प्राप्त गर्नेछ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझायो । लिग चरण र क्वालिफायरमा जनकपुरविरुद्ध एकतर्फी जित निकालेको सुदूरपश्चिमले फाइनलमा भने कमजोर प्रदर्शन गर्‍यो । 

जनकपुरले भने ती दुई खेलको हारको बदला शनिबार लियो । फाइनलमा खेलमा सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।



उसका लागि लाहिरु मिलान्थाले उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बलमा ९ चौका र ४ छक्कासहित ८७ रन बनाए । यस्तै, कप्तान आसिफ शेखले ३३, हर्ष ठाकरले अविजित ३० रन जोडे । 

सुदूरपश्चिमका लागि सैफ जैब, इशान पाण्डे र स्कट कुग्लाइनले मात्र एक/एक विकेट लिन सके ।  



त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायो । उसका लागि ओपनर सैफ जैबले अर्धशतकीय पारी खेले ।



४३ बलको सामना गरेका जैबले ८ चौका र २ छक्कासहित ६९ रनको पारी खेलेका हुन् ।

यस्तै, अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४१ रन बनाए । यस्तै, ब्रान्डन म्याकमुलेन र हरमित सिंहले १४/१४ तथा स्कट कुग्लाइनले १३, कप्तान दीपेन्द्र सिंह ऐरीले ९ तथा नरेश बुढा ऐरले ८ रन जोडे ।

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन/तीन तथा जिमी नीशम र ललित राजवंशीले एक/एक विकेट लिए ।    

  • प्रकाशित मिति : पुस ६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया