logo-img

रहस्यदर्शी ओशोका केही रोचक प्रसंग

२०औँ शताब्दीका महान रहस्यदर्शी ओशोको जन्म ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेश राज्यको रायसेन जिल्लामा कुछवाडा भन्ने गाउँमा भएको थियो । ११ डिसेम्बरमा ओशोको जन्म दिवस विश्वभरका ओशो आश्रम तथा ध्यान केन्द्रमा हर्षोल्लासका साथ मनाइन्छ । उनको बाल्यकालको नाम रजनीश चन्द्रमोहन जैन थियो । उनको बुबाको नाम बाबुलाल जैन अनि आमाको नाम सरस्वती जैन थियो । ओशोका बुबा मध्यप्रदेश राज्य, नर्सिङ्गपुर जिल्लाको गडरवाडामा सानो कपडा व्यापारी थिए । ओशो ११ सन्तानमध्ये सबैभन्दा जेठो सन्तान हुन् ।

एक बहिनीको बाल्यकालमा मृत्यु भएपछि ओशोका पाँच भाइ र चार बहिनी भए । ओशो सात वर्षको उमेरसम्म मावली हजुरबुबा र हजुरआमाको मायामा हुर्किए । ओशोले उनीहरूलाई नाना र नानी भन्थे । उनी सात वर्षको हुँदा नानाको मृत्यु भयो । त्यसपछि ओशो नानीसहित आफ्नो माता पितासँग बस्न गडरवाडा आए । ओशो बाल्यकालदेखि नै विद्रोही स्वभावको थिए । एक फिट उचाइको पुलबाट वर्षातमा उर्लिरहेको नर्मदा नदीमा हामफाली पौडी खेल्नु उनको लागि सामान्य खेल थियो ।

आफ्नो स्कुलको शिक्षा पूरा गरेपछि उनी सन् १९५१ मा उच्चशिक्षा अध्ययनको लागि जवलपुरको हितकारिणी कलेजमा भर्ना भए । तर, उनको बिद्रोही स्वभावको कारण उक्त कलेजमा ओशोलाई धेरै समय पढ्न दिइएन । त्यसपछि उनी जवलपुरकै डीएन जैन कलेजमा भर्ना भए । ओशोले आफ्नो जवलपुरको अध्ययन कालमा स्थानीय पत्रिकामा सहायक सम्पादक बनेर काम गरी आफ्नो खर्च आफैं जुटाए । सन् १९५५ मा डीएन जैन कलेजबाट दर्शनशास्त्रमा स्नातक तह सकेपछि उनी दर्शनशास्त्रमा एमए अध्ययनको लागि सागर विश्वविद्यालयमा भर्ना भए । 

उनले सन् १९५७ मा जवलपुरको सागर विश्वविद्यालयमाबाट स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरी स्वर्ण पदक प्राप्त गरे । त्यसपछि ओशोले छत्तिसगढ राज्यको रायपुरमा रहेको ढुडीधारी संस्कृत कलेजमा लेक्चररको रुपमा पढाउन सुरु गरे । सन् १९५८ मा उनले जवलपुरको जवलपुर विश्वविद्यालयमामा प्राध्यापकको रूपमा अध्यापन गर्न थाले ।



ओशोको पूर्वजन्मको संस्कार तथा यस जन्मको गहन साधनाले २१ वर्षको उमेरमा २१ मार्च, १९५३ मा जवलपुरको भंवरताल पार्कमा रहेको मौलश्री रुखको फेदमा उनको बुद्धत्व घटित भएको थियो । सन् १९५७ पछी उनले विश्वविद्यालयमामा अध्यापनको साथसाथै भारतभर घुमिघुमी प्रवचन पनि दिन थाले ।  त्यसताका उनी भारतमा आचार्य रजनीशको रूपमा प्रख्यात थिए । उनले ९ वर्ष अध्यापन गरेपछि सन् १९६६ मा जवलपुर विश्वविद्यालयमाबाट प्राध्यापक पदबाट राजीनामा दिएर आफ्नो पूरा समय भारतभरी घुमुघुमी प्रवचन दिने र ध्यान शिविर सञ्चालन गरी मानव चेतनाको जागरणको लागि समर्पित गरे । उनी सन् १९७० मा जवलपुरबाट मुम्बईको उडल्याण्ड अपार्टमेन्टमा सरे । 

उनले १९७० को अप्रिलमा २१औँ शताब्दीको मनुष्यको लागि एक प्रभावशाली र क्रान्तिकारी ध्यान विधि सक्रिय ध्यान आविष्कार गरे । यस धर्तीमा पहिलोपटक सक्रिय ध्यानको आविष्कार भयो । उनले २६ सेप्टेम्बर, १९७० मा भारतको मनालिमा भएको ध्यान शिविरमा ‘कृष्ण मेरे दृस्टी मे’ भन्ने प्रवचनको दौरान दशजना साधक साधिकालाई दीक्षा दिइ विश्व आध्यात्मिक आकाशमा नव सन्यासको सुरुवात गरे । सन् १९७१ ताका उनलाई भगवान रजनीश भन्न थालियो ।



यस धर्तीमा ११ डिसेम्बर १९३१ मा ओशो मात्र जन्मिएनन्, नयाँ आध्यात्मिक अभियान पनि जन्मियो । त्यसपछि यो जगतमा नवीन अध्यात्मिक जागरण जन्मियो  । यो धर्तीमा नव संन्यास जन्मियो । यस संसारमा ७५० भन्दा बढी आध्यात्मिक साहित्य सिर्जना भए । उनको जीवनकालमा यस धर्तीमा हजारांै प्रवचन शृंखला जन्मिए, जसमध्ये १० हजारभन्दा बढी रेकर्ड भएर मनुष्यताले मार्गदर्शन प्राप्त गरिरहेको छ । २१औँ शताब्दी अनुकूल नयाँ ध्यान विधि सिर्जना भए । यस धर्तीमा पहिलोपटक अध्यात्म र विज्ञानको मिलनको दर्शन ओशोसँगै प्रादुर्भाव भयो । 

उनको क्रान्तिकारी आध्यात्मिक दर्शनबाट प्रभावित भएर उनको जीवनकालमै १० लाखभन्दा बढी संन्यासी भए अनि लाखौं मान्छेले उनको बिचारलाई अंगाले । ओशोको नयाँ मनुष्यको परिकल्पना ‘जोरबा दि बुद्ध’ को दर्शन अहिलेको विज्ञान र प्रविधिको आधुनिक युगमा धेरै सान्दर्भिकता छ । ओशोको जन्म र जीवनसँग सम्बन्धित अनेकौं रहस्यमय घटना छन् । यस आलेखमा ओशोको जन्मसँग सम्बन्धित केही रहस्य उजागर गर्न खोज्दैछु ।



१६औँ शताब्दीमा फ्रान्समा एक प्रसिद्ध भविश्यवेदा पैदा भएका थिए । उनको नाम नास्त्रेदमस थियो । उनले गरेका सारा भबिष्यबाणी सहि सिद्ध भएका छन् । ओशोले त्यसबेला प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धको किटान गरेका थिए । हिटलर र नेपोलियन बोनापार्टजस्ता शासकको उदय र विलयका बारेमा आफ्नो पुस्तकमा लेखेर गएका थिए । उनले अब्राहम लिंकनको हत्याको बारेमा समेत भविश्यबाणी गरे । ती महान भबिश्यबेत्ताले २०औँ शताब्दीमा एक महान धर्मको उदय हुने कुरा उल्लेख गरेका थिए । त्यस धर्मले नै तेस्रो विश्वयुद्धबाट संसारलाई जोगाउने कुरा गरेका थिए । उनले भनेका थिए, ‘त्यो धर्म पूर्वबाट सुरु भइ सारा संसारभर फैलने छ । त्यस धर्मको प्रणेताको नाम चन्द्रमासँग सम्बन्धित हुनेछ । त्यस धर्मको प्रतीक चरा हुनेछ अनि त्यस धर्मका अनुयायीले लगाउने पहिरन रातो हुनेछ र त्यस धर्मका गुरुलाई सारा संसारले दुत्कार गर्नेछ ।’ यी लक्षण महान गुरु ओशो रजनिशमा करिब ठ्याक्कै मिल्न आउँछ । यस कुरालाई डा. योगी विकाशानन्दले समेत एक प्रवचनको क्रममा उजागर गरेका छन् ।

ओशोको नानाले बनारसको एक ज्योतिषसँग उनको जन्म कुण्डली बनाएका थिए । उनले भनेका थिए, ‘यस बालकको २१ वर्षसम्म प्रत्येक सातौं वर्षमा मृत्युको योग छ ।’ ओशोको नानानानीसँग अगाध प्रेम थियो । ओशो ७ वर्षको हुँदा उनको नानाको मृत्यु भयो । ओशोले आफ्नो नानाको मृत्युलाई यति नजिकबाट देखे कि उनलाई आफ्नै मृत्युजस्तै महसुस भयो । जब ओशो १४ वर्षको भए । उनलाई थाहा थियो ज्योतिषले जन्म कुण्डलीमा मृत्यु हुनसक्छ भनेका छन् । यसलाई ध्यानमा राखी ओशो आफ्नो गाउँ नजिकै रहेको शक्खर नदी नजिकै एउटा शिव मन्दिरमा गए । त्यहाँ सात दिनसम्म बहुत होसपूर्णरूपमा सुतेर उनी मृत्युको प्रतीक्षा गरे । साताैँ दिन त्यहाँ एउटा सर्प आयो तब उनलाई लाग्यो कि यही उनको मृत्यु हो । तर, उक्त सर्पले उनलाई केही नगरी गयो । यस घटनाले ओशोलाई मृत्युको साक्षात्कार गरायो ।

ओशो जन्मेको तीन दिनसम्म रोएनन् । उनले आमाको दूध पनि खाएनन् । त्यसपछि ओशोको परिवार चिन्तित बन्यो । तीन दिन पछाडि उनी रुन थाल्नुभयो अनि आमाको दूध पनि खान थाले । त्यसबेला भारतमा पहिलो बच्चा माइतमा जन्माउने प्रचलन थियो । ओशो गर्भमा हुँदा उनका मामाले आमालाई लिएर ओशोको मामाघर जाँदै थिए । बाटोमा एउटा ठूलो नदी पर्दथ्यो र उक्त नदीमा डुंगाबाट पार गर्नु पर्दथ्यो । त्यहाँ मामा र भान्जासँगै डुंगामा यात्रा गर्दा डुंगा डुब्न सक्छ भन्ने प्रचलन भएको हुँदा त्यस डुंगाको नाबिकले भन्यो यी गर्भवती महिला र तपाइँसँगै डुंगामा यात्रा गर्न हुँदैन । कि मामा मात्र यात्रा गर्नुहोस् अथवा ओशोकी आमा मात्र । रात परिसकेको थियो । त्यो डुंगा अन्तिम डुंगा थियो ।  

त्यसपछि उनीहरू नदी किनार नजिकै रहेको एक आश्रमका गुरु जसलाई साइबाबा भनिन्थ्यो त्यहाँ जानुभयो र सहयोग माग्नुभयो । ती गुरुले नबिकलाई बोलाएर भने, ‘यी महिलाको गर्भमा महान आत्मा छ र यसले हजारौं मान्छेहरूलाई तार्छ । तिमी ढुक्कसँग डुंगा चलाउ तिम्रो डुंगा डुब्दैन । त्यसपछि नबिकले उहाँहरूलाई डुंगामा राखी नदी पार गरायो ।’ यो कुरा ओशो स्वयंले आफ्नो पुस्तक ‘दि ग्लिम्सेस अफ गोल्डेन चाइल्ड हुड’ मा भनेका छन् ।

यस धर्तीमा मानव जातिको इतिहासमा ओशो रजनीशजस्ता बहुआयामिक व्यक्तिको कहिल्यै जन्म भएको पाइँदैन । उनमा जति अभिव्यञ्जनाको विविधता, कार्यकुशलताको विचित्रता र जीवनशैलीको स्वतन्त्रता कसैमा पलाएको पाइँदैन । यो धर्तीमा उनी पहिलो व्यक्ति हुन् जसमा विविध धर्म, विज्ञान, मनोविज्ञान, कला, साहित्य, संस्कृति तथा सम्पूर्ण मानवीय विधा सम्मिलित हुन आए । उनी मानव इतिहासका पहिलो व्यक्ति हुन्, जसले विश्वका सम्पूर्ण धर्मका विविधता बीच एकता र एकता बीच विविधताको मार्मिक व्याख्या गर्न सफल भए ।

(लेखक ओशो संन्यासी हुन्)

  • प्रकाशित मिति : पुस ६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया