logo-img

एनपिएलको बहुप्रतिक्षित फाइनल आज, कुन टिमको पल्लाभारी ? [भिडियोसहित]
‘ह्याट्रिक’ जितको खोजीमा सुदूर, बदलाको भावमा जनकपुर

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुरुवातदेखि नै उच्च लयमा रहेका टिम हुन्, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स । यी दुई टिमले अन्तिमसम्म पनि आफ्नो लय कायम राखे । र, सुदूरपश्चिम र जनकपुर डेब्यू सिजनको उपाधिका लागि आमनेसामेन हुँदै छन् । 

एकै संस्करणको एनपिएलमा यी दुई टिम तेस्रोपटक एकअर्काको सामना गर्न लागेका हुन् ।  

सुदूरपश्चिम र जनकपुर​बीचको ‘हाइभोल्टेज’ फाइनल प्रतिस्पर्धा आज दिउँसो साढे १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । सुदूरपश्चिम पहिलो क्वालिफायर तथा जनकपुर दोस्रो क्वालिफायर विजेताको रूपमा फाइनलमा उपाधिका लागि भिड्न लागेका हुन् । 



सानदार लयमा सुदूरपश्चिम  

जारी एनपिएलको फाइनलसम्म पुग्दा सर्वाधिक सफल टिममा पर्छ, सुदूरपश्चिम । ऊ सुरुवातदेखि नै विपक्षी टिमविरुद्ध हाबी देखियो । सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनले हराउँदै सानदार डेब्यू गरेको थियो । त्यस खेलमा १८३ रनको लक्ष्य दिएको सुदूरपश्चिमले विरानटनगरलाई ९२ रनमै अलआउट गर्‍यो ।



दोस्रो खेलमा पनि उसले काठमाडौं गुर्खाजविरुद्ध एकतर्फी जित निकाल्यो । सुदूरपश्चिमले उक्त खेलमा काठमाडौंलाई ९४ रनमै अलआउट गरेर ७३ रनले खेल जित्यो । 



जितमा ह्याट्रिक गर्नेक्रममा सुदूरपश्चिमले तेस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकाल्यो । चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध ३३ रनको पराजय बेहोर्‍यो । यद्यपि पाँचौं खेलमा सुदूरपश्चिमले जनकपुरविरुद्ध कीर्तिमानी प्रदर्शन गर्‍यो ।

त्यस खेलमा १२४ रनको लक्ष्य दिएको सुदूरपश्चिमले जनकपुरलाई ५१ रनमै अलआउट गर्‍यो । योसँगै सुदूरपश्चिम जारी सिजनमा विपक्षी टिमलाई सर्वाधिक कम स्कोरमा अलआउट गर्ने टिम बन्यो । छैटौँ खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सविरुद्ध पाँच रनको रोमाञ्चक जित निकालेर अपराजित यात्रा कायमै राख्यो । 

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै शीर्ष स्थान हासिल गरेर पहिलो क्वालिफायरमा स्थान बनायो । क्वालिफायर खेलमा सुदूरपश्चिमले जनकपुरविरुद्ध ८ विकेटको फराकिलो जित हात पारेर फाइनलको टिकट सुरक्षित गर्यो । ऊ अब जारी सिजनमा जनकपुरविरुद्ध ह्याट्रिक जित निकालेर च्याम्पियन बन्ने लक्ष्यमा छ । 

बीचमा लय गुमाएको जनकपुर

जनकपुरले फाइनलसम्म आइपुग्दा ९ म्याच खेलेको छ, जसमध्ये उसले ६ मा जित र तीन खेलमा हार बेहोर्‍यो । जनकपुरले पनि विराटनगरलाई हराउँदै लिगमा सानदार सुरुवात गरेको थियो । उसले उक्त खेलमा विराटनगरलाई ८ विकेटले हरायो । दोस्रो खेलमा जनकपुरले कर्णालीविरुद्ध पनि ८ विकेटको जित दर्ता गर्‍यो । 

ह्याट्रिक जित दर्ता गर्नेक्रममा उसले पोखरालाई ७ विकेटले हरायो । चौथो खेलमा जनकपुरको भेट लुम्बिनीसँग भयो । त्यस खेलमा उसले एक रनको रोमाञ्चक जित निकाल्यो । पाँचौं खेलमा भने जनकपुरले सुदूरपश्चिमविरुद्ध ७२ रनको फराकिलो हार बेहोर्‍यो । छैटौँ खेलमा काठमाडौंलाई ५ विकेटले हराउँदै उत्कृष्ट कमब्याक गरेको जनकपुर सातौं खेलमा चितवनसँग ३२ रनले स्तब्ध भयो । 

लिग चरणमा दोस्रो स्थान हासिल गरेकाले उसले क्वालिफायर वानमा सुदूरपश्चिमसँग खेल्नुपर्ने समीकरण बन्यो । जहाँ जनकपुरले ८ विकेटको लज्जास्पद हार बेहोर्‍यो । यद्यपि उसले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेता कर्णालीविरुद्ध २ विकेटको रोमाञ्चक जित निकालेर फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गर्‍यो । जनकपुर अब आफ्नो लय कायम राख्दै सुदूरपश्चिमविरुद्ध ‘ह्याट्रिक’ हारबाट जोगिएर उपाधि जित्ने दाउमा छ । 

जनकपुरका प्रमुख हतियार  

जनकपुरलाई फाइनलसम्मको यात्रा गराउनमा केही खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । त्यो सूचीमा छन्, ललितनारायण राजवंशी, जिमी नीशम, लाहिरु मिलान्था, हर्ष ठाकर, किशोर महतो र मोहम्मद मोहसिन । उनीहरूमध्ये बायाँहाते नेपाली स्पिनर ललितले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

उनले ९ खेल खेल्दा ५.५० को इकोनमीमा १६ विकेट लिएका छन् । ललित सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्तरूपमा शीर्ष स्थानमा छन् । जारी एनपिएलमा उनको उत्कृष्ट बलिङ ८ रन दिएर तीन विकेट लिनु हो ।  

ब्याटिङतर्फ जनकपुरका लागि न्यूजिल्याण्डका अलराउन्डर जिमी नीशमले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ८ खेलमा २०४.२० को सानदार स्ट्राइक रेटमा २ सय ४३ रन बनाएका छन् । जिमीले पछिल्लो तीन खेलमा मात्र १५५ रन जोडेका छन् । उनले बलिङमा ६ विकेट लिएका छन् । 

यस्तै, जनकपुरमा आबद्ध श्रीलंकन क्रिकेटर लाहिरु मिलान्थाले ९ खेलमा २०६ रन बनाएका छन् । उनी जनकपुरका लागि उच्च स्कोर बनाउने मामलामा दोस्रो स्थानमा छन् । 

यस्तै, बलिङमा हर्ष ठाकर र किशोर महतो ९ खेलमा ११/११ तथा मोहम्मद मोहसिनले ८ खेलमा ९ विकेट लिएका छन् । उनीहरू अब फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गरेर जनकपुरलाई उपाधि दिलाउन पूरा कोसिस गर्ने छन् । 

सुदूरपश्चिममा को छन् लयमा ?  

सुदूरपश्चिमको लगातार जितमा केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सुदूरपश्चिमलाई ८ मध्ये सात खेलमा जित दिलाउन कप्तान दीपेन्द्र सिंह ऐरीले अलराउन्ड प्रदर्शन गरिरहेका छन् ।

उनले ब्याटिङतर्फ ८ खेलमा १६२.६८ को स्ट्राइक रेटमा एक अर्धशतकको मद्दतमा २ सय १८ रन बनाएका छन् । यस्तै, दीपेन्द्रले बलिङमा ६ इनिङ्समा ६.४२ को इकोनमीमा ८ विकेट लिएका छन् । 

बलिङमा सुदूरपश्चिमका लागि न्यूजिल्याण्डका तीव्र गतिका बलर स्कट कुग्लाइनले दमदार प्रदर्शन गरिरहेका छन् । उनले ८ खेलमा ६.४६ को उत्कृष्ट इकोनमीमा​इकोनमीमा १६ विकेट लिएका छन् । जारी एनपिएलमा कुग्लाइन सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । यस्तै, सुदूरपश्चिमका लागि इंग्ल्याण्डका सैफ अली जैबले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

उनले ब्याटिङमा ८ खेलमा २०६ र बलिङमा ११ विकेट लिएका छन् । यस्तै, ब्याटिङतर्फ विनोद भण्डारी पनि लयमा छन् । उनले ८ खेलमा १९४ रन बनाएका छन् । यस्तै, स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले पनि जारी एनपिएलमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनले ८ खेलमा १८७ रन बनाउनुका साथै ६ विकेट लिएका छन् । 

सुदूरपश्चिमको जितमा पछिल्लो समय भारतीय मूलका अमेरिकन क्रिकेटर हरमित सिंह पनि प्रमुख हतियार बनिरहेका छन् । भारतका लागि यू–१९ विश्वकप जितिसकेका उनले जारी एनपिएलमा ४ खेलमा ८ विकेट लिइसकेका छन् ।   

कसले जित्लान् कार ? 

आज  उपाधि जित्ने टिमको मात्र होइन कार जित्ने खेलाडीको पनि टुंगो लाग्नेछ । ६२ लाख रुपैयाँ पर्ने ओमाडा कार जित्ने दौडमा प्रमुख दाबेदारमा छन्, फाइनल खेल्न लागेका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र स्पिनर ललितनारायण राजवंशी । उनीहरू आज टिमलाई उपाधि र आफू कार जित्ने योजनामा हुने छन् ।  

लिगमा दीपेन्द्रको प्रदर्शन 

सुदूरपश्चिम रोयल्सका कप्तान ऐरी एनपिएलको पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए । विराटनगरविरुद्धको उक्त खेलमा टिमलाई ९० रनको जित दिलाउन उनले अहम् भूमिका खेले । त्यस खेलमा ऐरीले २४ बलमा पाँच छक्का र तीन चौकासहित अविजित ५७ रन बनाए । 

बलिङमा उनले २ ओभरमा बिनाविकेट ९ रन खर्चिए । विरानटगरविरुद्ध फिल्डिङमा दीपेन्द्रले एक ब्याटरको क्याच प्रक्रिए । दोस्रो खेलमा काठमाडौंविरुद्ध पनि दीपेन्द्रको प्रदर्शन उत्कृष्ट रह्यो । उक्त म्याचमा उनले २५ बलमा तीन चौका र दुई छक्कासहित ४३ रन बनाए । 

काठमाडौंविरुद्ध दीपेन्द्रले उत्कृष्ट फिल्डिङ गर्दै एक ब्याटरलाई पवेलियन फर्किए । उक्त खेलमा उनले बलिङ भने गरेनन् । तेस्रो खेलमा लुम्बिनीविरुद्ध ऐरीले ब्याटिङमा १९ बलमा चार चौका र दुई छक्कासहित अविजित ३९ रन बनाए । उक्त म्याचमा उनले फिल्डिङमार्फत एक ब्याटरको क्याच पक्रँदा बलिङ गरेनन् । 

दीपेन्द्रले चौथो खेलमा ब्याटिङमा २ बलमा एक रन मात्र जोडे । बलिङमा उनले ४ ओभरमा ३२ रन दिएर एक विकेट लिए । चितवनविरुद्धको उक्त खेलमा ऐरीले रवि बोपारालाई पवेलियन फर्काएका थिए ।  

पाँचौं खेलमा जनकपुर बोल्ट्सविरुद्ध दीपेन्द्र ब्याटिङमा शून्यमै आउट भए पनि बलिङमा चम्किए । उक्त खेलमा उनले तीन ओभरमा २७ रन दिएर महत्वपूर्ण २ विकेट लिए । त्यस म्याचमा ऐरीले आसिफ शेख र जिमी नीशमलार्ई पवेलियनको दिशा देखाए । जनकपुरविरुद्ध उनले एक ब्याटरको क्याच पनि पक्रिए । 

छैटौँ खेलमा ऐरीेले पोखराविरुद्ध १६ बलमा एक छक्कासहित २० रन जोडे । बलिङमा उनले ४ ओभरमा बिनाविकेट १८ रन खर्चिए । लिग चरणको अन्तिम खेलमा अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्र दोस्रोपटक ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

कर्णालीविरुद्धको उक्त खेलमा उनले ब्याटिङमा २९ बलमा चार चौका र एक छक्कासहित ३८ रन बनाए । बलिङमा उनले ४ ओभरमा २० रन दिएर महत्वपूर्ण २ विकेट लिए । साथै, उनले देव खनाल र गुलशन झालाई रनआउट गरे । 

क्वालिफायर खेलमा पनि दीपेन्द्रको अलराउन्ड प्रदर्शन देखियो । जनकपुरविरुद्धको उक्त म्याचमा उनले बलिङमा चार ओभरमा २९ रन दिएर तीन विकेट लिए ।

ब्याटिङमा दीपेन्द्रले १६ बलमा एक छक्का र एक चौकासहित अविजित २० रनको योगदान दिए । त्यस खेलमा फिल्डिङमा उनले एक ब्याटरलाई रनआउट गरे । यसरी हेर्दा दीपेन्द्रले ८ खेलमा २ सय १८ रन बनाउनुका साथै ६ इनिङ्समा ८ विकेट लिएका छन् । फिल्डिङमा पनि उनले सानदार प्रदर्शन गरेका छन् ।  

ललितको आँखा कार र नम्बर वानमा

जनकपुरमा आबद्ध स्पिनर ललितनारायण राजवंशीले पनि गज्जबको प्रदर्शन गरिरहेका छन् । जनकपुरको जितमा ‘नायक’ बनिरहेका उनी सर्वाधिक विकेटकर्ताको सूचीको नम्बर वानमा छन् । र, ललित फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गरेर शीर्षमै रहन चाहन्छन् । 

उनले विराटनगरविरुद्ध खेल्दै एनपिएलमा डेब्यू गरेका थिए । उक्त खेलमा ललितले २८ रन दिएर तीन विकेट लिए । यस्तै, उनले दोस्रो खेलमा कर्णालीविरुद्ध १६ रन दिएर एक तथा तेस्रो खेलमा पोखराविरुद्ध ३१ रन दिएर तीन विकेट लिए । चौथो खेलमा ललितले १३ रन दिएर एक विकेट लिए ।

उनी पाँचौं खेलमा सुदूरपश्चिमविरुद्ध भने विकेटविहीन बने । त्यस खेलमा उनले बिनाविकेट ३२ रन दिए । छैटौँ खेलमा भने ललितले उत्कृष्ट प्रदर्शन गरे ।

उनले काठमाडौंविरुद्धको उक्त खेलमा ४ ओभरमा २ मेडनसहित ८ रन मात्र दिएर तीन विकेट लिए । सो खेलमा ललित ‘प्लेयर अफ द म्याच’ घोषित भए । यस्तै, लिग चरणको अन्तिम खेलमा चितवनविरुद्ध उनले ११ रन दिएर २ विकेट लिए । 

क्वालिफायर वानमा सुदूरपश्चिमविरुद्ध ललितले ४ ओभरमा ३७ रन खर्चेर एक विकेट हात पारे । क्वालिफायर–२ मा उनले राम्रो पुनरागमन गरे । कर्णालीविरुद्धको त्यस खेलमा उनले ४ ओभरमा २२ रन दिएर दुई विकेट लिए ।    

तस्बिरहरू : एनपिएल/सुदूरपश्चिम/जनकपुर   

  • प्रकाशित मिति : पुस ६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया