नाम हो– डा. तुलसी गिरि जसले आफ्नो महत्वाकांक्षाका लागि बिपी कोइरालाको विश्वासको बलि चढाउन मन्जुर भए । बदलामा राजा महेन्द्रको मतियार बन्ने बाटो समाते ।
राजदरबारका पूर्वसंवाद सचिव रेवतीरमण खनालको आत्मकथा ‘अनुभूति र अभिव्यक्ति’ मा तत्कालीन राजा महेन्द्रको दृष्टिकोण उल्लेख गरिएको छ । भनिएको छ– ‘यो पाइनदार अरबी घोडा हो, गन्तव्यमा पुर्याउँछ, सबार चिन्छ, लगाम राम्ररी नसमाए लडाउन सक्छ...।’
महेन्द्रको यो दृष्टिकोण डा. तुलसी गिरिप्रति लक्षित थियो । हो, तिनै तुलसी गिरि जसले बिपी कोइराला र नेपाली कांग्रेसलाई धोखा दिएर राजाको काख रुचाए । २०१५ सालको आम निर्वाचनपछि बनेको कांग्रेस सरकारमा बिपी प्रधानमन्त्री थिए । बिपीकै मन्त्रिमण्डलमा परराष्ट्रमन्त्री र कांग्रेसका महामन्त्रीजस्तो महत्वपूर्ण जिम्मेवारीमा थिए, गिरि । १ पुस २०१७ मा राजा महेन्द्रले सैन्य ‘कु’ गरेर निर्वाचित सरकार विघटन गरे ।
प्रधानमन्त्री, मन्त्रीदेखि कांग्रेसका शीर्षस्थ नेताहरूलाई जेलमा थुने । प्रजातन्त्रको हत्या गरेर पंचायत व्यवस्था सुरु गरे । यसमा बिपीका दुई प्रिय पात्र डा. गिरि र विश्वबन्धु थापाले महेन्द्रको ‘कु’ बाटोलाई समर्थन गर्दै पञ्चायतको घोडा चढे ।
गिरिको बौद्धिकता, चातुर्यता, काम गर्ने तरिका र जीवनशैलीबाट बिपी खुबै प्रभावित थिए । यसैले पार्टीभित्र अनेक आपत्तिका बाबजुद उनले डा. गिरिलाई मन्त्रीदेखि महामन्त्री बनाए, त्यो पनि छोटो समयमा । गिरीमा बढ्दो महत्वाकांक्षाबारे बिपी बेखबर रहे । गिरि परराष्ट्रमन्त्री हुँदा उनका सहयोगी थिए सुशील कोइराला, जो पछि संघीय गणतन्त्र नेपालको प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापतिसमेत भए । उनलेसमेत गिरिले कांग्रेसलाई धोखा दिँदै छन् भन्ने गन्धसमेत पाएनन् ।
राजा महेन्द्रले ‘कु’ गर्नुभन्दा तीन महिनाअघि गिरिले ३० भदाै २०१७ मा मन्त्री पदबाट राजीनामा दिए । राजीनामाको निहुँ थियो, ‘सरकारले जति काम गर्न सक्थ्यो त्यति गरेन ।’ पछिसम्म साथ दिने/नदिने परीक्षण गर्न गिरिलाई मन्त्रीबाट राजीनामा गर्न लगाएका थिए, राजा महेन्द्रले । गिरिका लागि राजीनामा अग्निपरीक्षा थियो ।
उनको राजीनामा प्रकरणपछि प्रधानमन्त्री बिपीको मनमा चिसो पस्यो । राजनीतिक अनिष्टका अनेक शंका–उपशंका उब्जिए । राजा महेन्द्रले प्रजातन्त्र खोस्दैछन् भन्ने गाइँगुँइ चल्न थाल्यो । सरकारविरुद्ध दरबारले गर्ने षडयन्त्रबारे त्यसबेलाको सरकारले नै पत्तो पाएन । तर, तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले खटाएका गुप्तचरबाट गिरिले राजा भेटेको कुरा बिपीले थाहा पाएपछि ‘केही न केही गडबड हुँदै छ’ भन्ने आशंका जन्मियो ।
नभन्दै १ पुसको बिहानै राजा महेन्द्रले सेनाको सहयोगमा ‘कु’ गरी छाडे । देशमा एकदलीय निरंकुश पञ्चायती व्यवस्था लागू भयो । राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइयो । प्रतिस्पर्धाको राजनीतिलाई निषेध गरियो ।
कांग्रेस र बिपीलाई धोखा दिएर दरबारतिर आएका गिरिको महत्वाकांक्षालाई राजा महेन्द्रले गर्नुसम्म उपयोग गरे । महेन्द्रको यो चालले कांग्रेसलाई कमजोर बनाउन भूमिका खेल्यो । पुरस्कारबापत गिरीले ‘पञ्चायतकी आमा’ को संज्ञा पाए । उनी २०१७ देखि २०३४ सालसम्म राजा महेन्द्र र राजा वीरेन्द्रको कार्यकालमा मन्त्रिपरिषदको उपाध्यक्षदेखि प्रधानमन्त्री पदबाट विभूषित पनि भए ।
हालै प्रकाशित वरिष्ठ पत्रकार किशोर नेपालले लेखेको किताब ‘नेपालका निधि’ मा कांग्रेस नेता महेन्द्रनारायण निधिले १ पुसको काण्डमा गिरिको भूमिकालाई लिएर उनका बुबा मन्दीप गिरिसँग राखेको जिज्ञासाबारे उल्लेख गरिएको छ ।
नेपालले आफ्नो किताबमा लेखेका छन्–
मन्दीप गिरी डा. तुलसी गिरिका पिताजी हुनुहुन्थ्यो । पिताजीलाई भेटेर उहाँ सोध्न चाहनुहुन्थ्यो– डा. गिरिले किन र केका लागि कांग्रेस र नेपाली जनतासँग विश्वासघात गरेका हुन् ?
उहाँलाई मन्दीप गिरिले केही बताउलान् भन्ने लागेको थियो । निधि वास्तविकता थाहा पाउन चाहनुहुन्थ्यो । उहाँले यस विषयमा सत्यतथ्य बताइदिन पटकपटक आग्रह गर्नुभयो । तर, गिरिले छोराको राजनीतिसँग आफ्नो कुनै सरोकार नरहेको जवाफ दिनुभयो ।
काठमाडौंमा भएका राजनीतिक घटनाहरूका बारेमा पनि कुनै जानकारी नभएको उहाँको भनाइ थियो । गिरिको जवाफ सुनेपछि समय यस्तै रहेछ भन्ने सोचेर निधिजी चुप लाग्नुभयो । रात त्यहीँ बिताएर उहाँ भोलिपल्ट बिहान आफ्नो गाउँ नगराइनतर्फ लाग्नुभयो ।
राजा महेन्द्रको निधनपछि एउटा यस्तो मोड आयो जतिबेला राजा वीरेन्द्र राजगद्दीमा थिए । उनले २०३६ सालमा जनमत संग्रहको घोषणा गरे । जनमत संग्रहमा पञ्चायतलाई जिताउन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले साम, दाम, दण्ड भेदका सबै अस्त्र प्रयोग गरे । त्यसपछि राजा वीरेन्द्रको शासनकालमा थापा हाबी भएपछि गिरि बिरक्तिए । र, ‘पञ्चायतको पतन हुँदैछ’ भन्दै उनले देश छाडे ।
२०४६ सालमा प्रजातन्त्र पुर्नस्थापना भयो । धेरै पञ्चहरू कोही कांग्रेसतिर लागे, कोही रातारात कम्युनिष्ट भए त कसैले नयाँ राजनीतिक दल खोलेर प्रतिस्पर्धात्मक दलीय व्यवस्थालाई स्विकार गरे । तर, गिरिले यो सब कुरामा कुनै रुचि लिएनन् । उनी कतै कुनामा एकान्तबासमा बसे । राजनीतिबाट अलगथलग रहे । तर, खोलो फर्कियो ।
१९ माघ २०६१ ज्ञानेन्द्रले राजा महेन्द्रकै शैलीमा सत्ता ‘कू’ गरे । त्यसबेला महेन्द्रले जस्तै ज्ञानेन्द्रले पनि गिरिलाई याद गरे । उनी नेपाल आए । गिरि ज्ञानेन्द्रको अध्यक्षतामा गठित मन्त्रिपरिषदमा प्रथम उपाध्यक्ष बने । सायद उनलाई लाग्यो होला, जसरी १ पुस २०१७ मा महेन्द्रले प्रजातन्त्रको हत्या गरेर ३० वर्ष पञ्चायत व्यवस्था चलाए त्यसरी नै ज्ञानेन्द्रको शासन पनि चल्नेछ । तर, यतिबेला आइसक्दा बागमतीमा पानी धेरै बगिसकेको थियो ।
१ पुसमा सैन्य ‘कु’ गर्नु पहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो पक्षमा बनाएका थिए महेन्द्रले, त्यसैले पञ्चायत ३० वर्षसम्म चल्यो । त्यसको ठीकविपरीत अन्तर्राष्ट्रिय र आन्तरिक परिस्थिति आफ्नो प्रतिकूल हुँदाहुँदै पनि ज्ञानेन्द्रले सत्ता हातमा लिए । तर, गिरि ‘राजा र बहुदलीय व्यवस्था एकसाथ जान सक्दैन’ भन्ने मान्यतामा विश्वास राख्थे ।
राजा ज्ञानेन्द्रलाई उनले यसका लागि उक्साएका पनि थिए । उनी बहुदलीय प्रतिस्पर्धात्मक शासन व्यवस्थाका कट्टर आलोचक थिए । गिरिले २०१७ सालमा राजा महेन्द्रलाई साथ दिएर कांग्रेसलाई घात गरेपछि कहिल्यै बहुदलीय व्यवस्थाप्रति विश्वास गरेनन् । २०४७ सालको संविधान कायम राखेर ‘कु’ गर्दा सफल हुँदैन भन्ने सोच राखेका गिरिले राजा ज्ञानेन्द्रको उपाध्यक्ष पद किन स्वीकार गरे ? त्यसबेला उनको जवाफ थियो– ‘हुकुम कसरी अस्वीकार गर्ने ?’
गिरिले राजतन्त्रमै सार्वभौमसत्ता निहीत हुन्छ भन्थे । जनतामा सार्वभौमसत्ता हुने कुराको गिरि विपक्षमा थिए । दलीय प्रणालीमा सहभागी हुनु उनको विचारमा पाखण्डको हद हुन्थ्यो । यसैले राजालाई उनले कि दलमाथि प्रतिबन्ध लगाएर अघि बढ्न, कि त छाड्न सुझावसमेत दिए । उनले आफ्नो अनुदारवादी लाइनमा राजालाई ल्याउन सकेनन् । राजामा आँट नदेखेपछि गिरि निराश देखिन्थे ।
ज्ञानेन्द्रले अलमलकै बीचमा शासन चलाउने प्रयास गरे । त्यतिबेलै हो गिरिले ‘अब नेपालमा राजतन्त्र र बहुदलमध्ये एउटा मात्र रहने’ भविष्यवाणी गरे । भयो पनि त्यस्तै । जनआन्दोलन सफल भएर माओवादीसमेत मूलधारमा आएपछि गिरिको अध्याय पनि समाप्त भयो । ज्ञानेन्द्रले सत्ता ‘कु’ गरेको १५ महिना पनि नपुग्दै नेपाली राजतन्त्र तासको घरझैँ ढल्यो । राजसंस्था एकादेशको कथा भयो । देशमा गणतन्त्र आयो । यसबेला गिरि काठमाडौंमै थिए ।
६ वर्षअघि आजकै दिन अर्थात् ३ पुस २०७५ मा काठमाडौंस्थित बूढानीलकण्ठ निवासमा गिरिको निधन भयो । निधन हुँदा उनको उमेर ९२ वर्ष थियो । र, गिरिको नामको अगाडि थपिएको थियो– स्वर्गीय डाक्टर तुलसी गिरि ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।