त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा सुन्ने क्षमतामा कमी भएका बिरामीलाई प्रभावकारी सञ्चारका लागि सहजीकरण गर्न विभिन्न सुविधा ल्याइएको छ । अस्पतालमा सुस्त श्रवण भएकालाई सुन्न सहयोगी सामग्री, प्रतीक चिह्न (इयरमार्क) तथा सञ्चार रणनीतिहरू समावेश गरिएको सहयोगी पुस्तिका विकास गरी कार्यान्वयनमा ल्याइएको हो ।
अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. रवीन्द्र प्राधानाङ्गले अस्पतालले सुस्त श्रवण भएका व्यक्तिकाे सहजताका लागि ओपिडी कार्डमै छाप लगाउने व्यवस्था गरेको बताए । उनका अनुसार त्यसका साथै ती व्यक्तिहरूसँग कसरी सञ्चार गर्ने भन्ने विषयमा तालिम पनि दिइएको छ ।
जापानी सहयोग नियोग (जाइका) को ‘ग्रासरूट्स जेपिपी’ परियोजना अन्तर्गत श्रुति (राष्ट्रिय सुस्त श्रवण तथा पछि बहिरा भएकाको संगठन नेपाल), त्रिवि शिक्षण अस्पताल र जापानको राष्ट्रिय सुस्त श्रवण संघको सहकार्यमा ‘पाइलट प्रोजेक्ट अफ ऐसेसिबल कम्युनिकेसन सपोर्ट फोर हार्ड अफ हेयरिङ प्यासियन्टेस् इन काठमाडौं हस्पिटल’ नामक तीन वर्षे परियोजना अन्तर्गत सो व्यवस्था गरिएको हो ।
डा. प्राधानाङ्गका अनुसार सुस्त श्रवण भएका व्यक्तिहरूले आफ्नो समस्याबारे भन्न सक्ने तर जवाफ सुन्न पाए पनि बुझ्न नसक्नु सबैभन्दा ठूलो चुनौती रहेको छ । उनले भने, ‘सुस्त श्रवण भएका व्यक्तिलाई अस्पताल जाँदा एकै पटकमा सम्पूर्ण सेवा कुनै पनि सोधपुछ बिना उपलब्ध हुन सकोस् भन्ने नै यो परियोजनाको मुख्य उद्देश्य हो ।’
उनका अनुसार सुस्त श्रवण भएका व्यक्ति मैत्री अस्पताल तथा क्षेत्र सबै हुनुपर्छ । यो परियोजना कार्यान्वयन गर्दा टिकट काउन्टरमै स्ट्याम्प लगाउने व्यवस्था छ । जसले गर्दा फलोअपमा सजिलो हुने उनी बताउँछन् । हाल प्याथोलोजीमा यो सुविधा रहेको र विस्तारै अरू विभागतिर पनि विस्तार गरिने उनको भनाइ छ । अस्पतालले छिट्टै नै अस्पतालको सेवासहितको डिजिटल बोर्ड राख्ने तयारी पनि भइरहेको उनले बताए ।
सो अवसरमा ‘श्रवण शक्ति गुमेका व्यक्तिहरूको लागि स्वास्थ्य सेवाहरूमा पहुँच अस्पतालको लागि सहयोगी पुस्तिका’ नामक पुस्तिका प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको थियो ।
श्रुतिकी अध्यक्ष तथा परियोजनाकी संयोजक नीता केशरी भट्टराईले परियोजनाले सुस्त श्रवण भएका व्यक्तिलाई स्वास्थ्य सेवामा पहुँचयुक्त वातावरण निर्माणका लागि सहयोग गर्ने बताइन् ।
उनले भनिन्, ‘सुस्त श्रवण भएका व्यक्तिहरू घरपरिवारमा निर्भर हुने, स्वास्थ्य सेवा लिन आफैंले नसक्ने भएको हुनाले यसको लागि पहुँचयुक्त कसरी बनाउन सकिन्छ भनेर परियोजना गरेका हौँ ।’
उनले स्वास्थ्यकर्मीमा ती व्यक्तिहरूसित कसरी सञ्चार गर्नुपर्छ भन्ने चेतनाकी कमी देखिएको र सञ्चार सामग्री पनि उपलब्ध नभएको पाइएको बताइन् । उनले भनिन्, ‘ती व्यक्तिहरूसँग कुरा गर्दा उज्यालो कोठाहरू प्रयोग गर्ने, कुरा गर्दा आँखा जुधाएर कुरा गर्नुपर्ने, बोल्दा सहज हुने गरी बोल्ने, हाउभाउ प्रयोग गर्ने, लेखेर कुरा गर्ने, धैयर्ता गरेर कुरा गर्ने, लेख्ने बोर्डहरू राख्ने विषयमा छलफल भएको छ । सहयोगी पुस्तकले पक्कै मद्दत गर्नेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।