तनहुँको भानु नगरपालिका-९ बाइसजाँगरस्थित कर्मदा माध्यमिक विद्यालयका विद्यार्थीले आलुखेती सुरू गरेका छन् ।
कक्षा १० मा अध्ययनरत विद्यार्थीले दुई रोपनी क्षेत्रफलमा आलुखेती सुरू गरेका हुन् । विद्यालयको छात्रावासमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई मौसम अनुसारको खेती गर्न सिकाउने उद्देश्य अनुरूप आलु खेतीमा संलग्न गरिएको प्रधानाध्यापक सञ्जयकुमार विकले जानकारी दिए ।
छात्रावासमा बस्दा अभिभावकको आर्थिक लगानीलाई केही कम गर्ने र विद्यार्थीलाई आफैंप्रति जिम्मेवार बनाउन सकियोस् भन्ने उद्देश्य स्वरूप आलुखेती गराइएको उनको भनाइ छ ।
उनले भने, ‘छात्रावासमा बस्दा अभिभावकको केही रकम खर्च हुन्छ । आलुखेती गरेर केही आम्दानी भयो भने सहज हुन्छ । पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीलाई श्रम प्रतिको भावनासमेत जगाउँछ ।’
आलु खेतीका लागि बारी खन्न विद्यार्थी र शिक्षकले सहयोग गरेका छन् । त्यसक्रममा ७० किलो आलु रोपिएको प्रधानाध्यापक विकले बताए । उनले भने, ‘पढाइसँगै व्यावहारिक सीप सिकाउनसमेत यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएका छौँ ।’ उत्पादित हुने आलु बिक्री गरी विद्यार्थीले खर्च जुटाउन सक्ने विकको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।