जुम्लाका आठवटै स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लामा एक नगरपालिकासहित सात गाउँपालिका एकैसाथ साक्षर घोषणा भएका हुन् ।
साक्षरताका १२ सूचकमध्ये अधिकांश सूचक पूरा गरेपछि यहाँका सबै स्थानीय तहलाई साक्षर घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिए । गत २१ भदौमा हिमा गाउँपालिका पहिलो साक्षर पालिकाका रूपमा घोषणा भएको थियो ।
जिल्ला समन्वय समितिका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ९८ दशमलव ९१ प्रतिशत र सबैभन्दा कम तिला गाउँपालिकामा ९५ दशमलव चार प्रतिशत नागरिक साक्षर छन् ।
कनका सुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, सिञ्जामा ९६ दशमलव पाँच, तातोपानीमा ९५ दशमलव ७७, गुठिचौरमा ९५ दशमलव ७३, हिमामा ९५ दशमलव ७२ र पातारासीमा ९५ दशमलव २४ प्रतिशत नागरिक साक्षर रहेका स्थानीय तहको शिक्षा शाखाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
साक्षरताका १२ सूचकमध्ये छ सूचक पूरा गर्ने पालिकालाई साक्षर पालिका घोषणा गर्ने प्रावधान रहेको जिल्ला समन्वय समितिका प्रमुख आचार्यले बताए । जिल्लाका ६० वटा वडाका बस्तीमा साक्षर सङ्ख्याको खोजी गरिएको थियो ।
साक्षरता पालिका घोषणा गर्न राष्ट्रभाषा वा मातृभाषाका वर्ण अक्षरको पढाइ तथा लेखाइ गर्न सक्ने, मूल्यसूची र बिल पढ्न सक्ने, परिवारको सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न सक्ने, शून्यदेखि नौसम्मका अक्षर र अङ्क लेख्न र चिन्न सक्नेलगायत सूचकहरू पूरा भएपछि पालिकालाई साक्षर घोषणा गरिएको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।
सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले लामो समयको मेहनत र लगाबपछि जुम्ला साक्षर जिल्ला घोषणाको मार्ग खुलेको बताए ।
उनले अब हरेक पालिकाले साक्षरबाहेक निरीक्षण जनशक्तिलाई साक्षर बनाएर सतप्रतिशत साक्षर नागरिक बनाउने योजना तर्जुमा गर्नुपर्ने आवश्यक औंल्याए ।
हरेक स्थानीय तह, शिक्षासँग सरोकार राख्ने निकायदेखि सर्वसाधारण नागरिक जिम्मेवाररूपमा प्रस्तुत हुनुपर्नेमा अध्यक्ष धितालले जोड दिए । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।