पछिल्लो समय नेपालमा पाइने महत्वपूर्ण रैथाने बाली हराउँदै गएका छन् । उत्पादनमा प्रयोग हुने बिउ करिब ९५ प्रतिशत आयातित रहेकाले रैथाने बाली हराउँदै गएको हो ।
रैथाने बाली लोप हुँदै जानुमा मुख्यगरी आयातित विकास र हाइब्रिड जातको बिउलाई प्राथमिकता दिनु रहेको बताउँछन्, जीन बैंकका प्रमुख तथा बाली वैज्ञानिक डा. बालकृष्ण जोशी ।
सदियौंदेखि कृषकले संरक्षण गर्दै आइरहेको कृषि बालीलाई रैथाने बाली भनिन्छ । रैथाने बालीअन्तर्गत सामान्यतया अन्न तथा कोदोजन्य, दाल तथा गेडागुडी, जरे तथा गाँठे, फलफूल र मसलाजन्य रैथाने बाली पर्दछन् । तथापि, अन्य रैथाने बालीको तुलनामा खाद्य सुरक्षा र खेती गरिने क्षेत्रफल एवं उत्पादनको आकारको दृष्टिले कोदो, फापर, जौ, चिनो, कागुनो, लट्टे, उवा, जुनेलोलगायतका अन्न तथा कोदोजन्य रैथाने बालीहरू बढी महत्वपूर्ण छन् ।
स्थानीय रैथाने जातका बिउहरूमा चिसो तथा सुक्खा सहने, रोगकीरा कम लाग्ने, रुखो तथा पाखो जमिनमा पनि बढी फल्ने र बजारभाउ पनि राम्रो पाइन्छ । मानिस बाँच्नका लागि सबैभन्दा पहिला चाहिने भनेकै खाने कुरा हो । त्यही खानेकुरा जोहो गर्ने प्रमुख क्षेत्र कृषि क्षेत्र, त्यसभित्र पनि बिउविजन बिना कुनै चिजको उत्पादन सम्भव नै छैन । त्यसमाथि गुणस्तरयुक्त बिउबिजनको प्रयोगले मात्र पनि २० देखि २५ प्रतिशत कृषि उत्पादनमा वृद्धि गर्न सकिने कुरा अध्ययनले प्रमाणित गरिसकेको छ ।
त्यसैले ‘अनिकालमा बिउ जोगाउनु, हुलहालमा जिउ जोगाउनु’ भने झैँ पुरानो जातका बिउको संरक्षण एवं सम्वर्द्धन गर्ने र नयाँ जातको विकास गर्नुपर्ने आजको आवश्यकता रहेको बाली वैज्ञानिक डा. जोशी बताउँछन् । त्यसका लागि स्थानीय स्तरमा उपलब्ध भएका रैथाने बालीका जातहरूबारे तथ्यांक संकलन गर्ने, बिउ मेलाको आयोजना गरी जम्मा भएका बिउलाई सामुदायिक बिउ तथा फिल्ड जिन बैंक स्थापना गरी राख्न आवश्यक रहेको देखिन्छ ।
त्यसो गर्न सके कृषकलाई समयमै उचित बिउ उपलब्ध हुने र हाईब्रिड बिउमा रहने निर्भरता हटाउने, उन्नत जातको वर्णशंकर बिउको बढ्दो प्रयोगसँगै लोप हुने अवस्थामा पुगेका स्थानीय तथा रैथाने जातको संरक्षण हुनुका साथै स्थानीय हावापानीसँग सुहाउने, रोगकीरा सहन सक्ने, गुणस्तरीय, जलवायु परिवर्तन तथा प्रतिकूल मौसम अनुसारको नयाँ जातका बिउ विकास गर्न सकिने बाली वैज्ञानिक डा. जोशीको तर्क रहेको छ ।
साथै, देशमा व्याप्त कुपोषण र बढ्दो नसर्ने रोग कम गर्न पनि रैथाने बालीहरू उपयोगी हुन्छन् । शरीरको लागि आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, आइरन र अन्य खनिज पदार्थको राम्रो स्रोत भएको हुनाले रैथाने बालीका उत्पादन बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिहरूको स्वास्थ्य तथा पोषणको लागि महत्वपूर्ण रहेको उनको भनाइ छ ।
रैथाने बालीमा पाइने सूक्ष्म पोषक तत्व एवं फाइबर आदि पाचन प्रणालीमा सुधार; मुटुको स्वास्थ्य, मधुमेह, उच्च रक्तचाप र शारीरिक तौल व्यवस्थापनको साथै तनाव व्यवस्थापन र मानसिक स्वास्थ्यको लागि समेत उपयोगी हुने पाइएको छ । रैथाने बालीहरू पौष्टिकताले भरपूर हुने भएकोले अन्तर्राष्ट्रिय जगतमा न्यूट्रि सिरियल, सुपर फुडलगायतको नामबाट समेत चिनिन्छन् ।
यति धेरै फाइदा हुँदाहुँदै पनि यी बालीहरूको सरकारी निकायले अध्ययन अनुसन्धान र प्रबर्द्धनमा चासो नदिँदा पछिल्लो समय यी जातहरू संकटमा छन् । अब पनि समयमै स्थानीय जातको निरन्तर संरक्षण र सम्वद्र्धन गर्नको लागि सामुदायिक बिउ बैंक स्थापना गर्न कदम चालिएन भने कृषकहरूले पहिले आफूले खेती गरेका स्थानीय जातहरूको कथा भनेर अथवा सुनेर चित्त बुझाउने दिन आउन सक्ने बाली वैज्ञानिक जाेशी बताउँछन् ।
पछिल्लो समय प्रयोग भएका हाईब्रिड बीउको बढ्दो प्रयोगसङ्गै केही बालीको उत्पादन ह्वात्तै बढेको कुरामा दुई मत छैन । तर, ती बालीमा नयाँ रोगकिराको संक्रमण बढी देखिने, कुनैमा त फल नै नलाग्ने, स्थानीय हावापानीमा नभिज्ने, धेरै मात्रामा रासायनिक मल आवश्यकता पर्ने जस्ता विविध समस्या देखिन थालेका छन् ।
यस्ता समस्यालाई मध्यनजर गर्दै सरकारी, गैरसरकारी तथा अन्य निकायहरूले देशभरी नै स्थानीय रैथाने जातका र देशमै विकास गरिएका उन्नत जातका बालीहरूको बिउको संरक्षण, सम्वद्र्धन, प्रवर्द्धन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
त्यसका लागि रैथाने बालीको महत्वको बारेमा प्रचारप्रसार र सचेतना बढाउनु यी बालीहरू प्रवर्द्धनको पहिलो खुड्किला हो । रैथाने बालीको उत्पादन तथा उपभोग घट्दै जानुको एउटा कारण त्यस्ता बालीहरूको पोषण र स्वास्थ्यको लागि हुने फाइदाको बारेमा आम उपभोक्ता र सरोकारवालाहरू कम जानकार र कम सचेत हुनु पनि हो । साथै कतिपय समाजमा रैथाने खाद्यान्नलाई गरिबको खानाको रूपमा लिइने गलत सामाजिक मान्यताको कारण पनि उपभोग गर्ने क्रम घट्न गएको छ ।
रैथाने बालीलाई हाम्रो खाद्य तथा कृषि प्रणालीमा मूलप्रवाहीकरण गर्न सकेमा देशमा दिगो खाद्य पोषण सुरक्षा कायम गर्नमा सघाउ पुग्नुको साथै ग्रामीण नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा समेत टेवा पुग्नेछ । रैथाने बालीको उत्पादन बढाउन कृषकलाई प्रभावकारी प्राविधिक सेवा र अनुदानको व्यवस्था गर्नु आवश्यक हो ।
यस्तै, रैथाने बालीको संरक्षणलाई पनि उत्तिकै महत्व दिनुपर्छ । कतिपय रैथाने बालीका जातहरू लोपोन्मुख अवस्थामा पुगेका छन् । त्यस्ता जातहरूको संरक्षणको लागि स्थानीयस्तरमा सामुदायिक बिउ बैंकहरूको स्थापना गरी तीमार्फत संरक्षणका गतिविधि सञ्चालन हुन थालेका छन् । तर, ती अझै अपुग छन् । अरू के–कस्ता कुरामा सुधार गर्न आवश्यक छ ?सुनाैँ डा. जोशीकै शब्दमा :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।