यूएईमा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले सानदार प्रदर्शन गरिरहेको छ । दुईवटा खेल खेलिसक्दा नेपालले फराकिलो जित निकालेको हो । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डविरुद्ध ६७ रनको जित निकाल्यो ।
पछिल्लो केही वर्षको अवधिमा थाइल्याण्डको सिनियर महिला टिमले क्रिकेटमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । उसले टी–२० विश्वकप खेलिसकेको छ । तर, थाइल्याण्डको उमेर समूहको क्रिकेट टिमले भने यसपटक निकै खराब प्रदर्शन गरिरहेको छ ।
पहिलो खेलमा नेपालले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ११.४ ओभरमा ३५ रनमै अलआउट भयो । विगतमा नेपालविरुद्ध थाइल्याण्डले सहज जित निकालेको रेकर्ड छ । तर, यसपालि भने ऊ नेपालसामु निरीह बन्यो ।
नेपालले दोस्रो खेलमा पनि आफ्नो लय कायम राख्दै कुवेतलाई २२ रनमै अलआउट गर्यो । बिहीबार भएको यस खेलमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो । बलिङमा नेपालले कुवेतलाई १३ ओभरमा २२ रनमै समेट्यो । र, नेपालले १ सय ८ रनको फराकिलो जित निकाल्यो ।
लगातारको फराकिलो जितले नेपालको आगामी यात्रा सहज बन्दै गएको छ । नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । नेपालले अझै चारवटा म्याच खेल्न बाँकी नै छ । यदि ती खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न सके विश्वकप खेल्ने नेपाली महिला टिमको सपना साकार हुनेछ । आइसिसीको नियमअनुसार प्रतियोगितामा अंक तालिकाको शीर्ष स्थानमा रहने टिमले विश्वकप खेल्न पाउने नियम छ ।
जारी प्रतियोगितामा विश्वकपमा पुग्ने दौडको कडा प्रतिस्पर्धामा नेपाल र यूएई रहेका छन् । र, धेरैले यी दुईमध्ये एक टिमले विश्वकपको टिकट पाउने अनुमान गरेका छन् ।
यस प्रतियोगितामा नेपाललाई सर्वाधिक डर पनि यूएईसँग नै हो । ऊ पनि सानदार लयमा छ । र, यूएईले सुरुवाती दुई खेलमा फराकिलो जित निकालिसकेको छ । घरेलु मैदानमा खेलिरहेकाले पनि यूएईलाई केही फाइदा पुग्ने देखिन्छ ।
महत्वपूर्ण खेलमा नेपालको यात्रामा यूएई बाधक बन्दै गएको छ । सन् २०२२ को विश्वकप छनोटमा यूएईसँग नेपाल ८ रनमै अलआउट हुँदै १० विकेटले पराजित भएको थियो । यसपटक नेपाल दुई वर्षअघिको त्यो लज्जास्पद प्रदर्शनलाई बिर्सिँदै यूएईलाई स्तब्ध पारेर इतिहास रच्ने दाउमा छ ।
नेपाल र यूएईबीचको खेलपछि कुन टिमले विश्वकपको यात्रा गर्ने भन्नेबारे थप अनुमान गर्न सहज हुनेछ । त्यसैले शनिबार हुने यूएईविरुद्धको प्रतिस्पर्धामा नेपाल पूरा तयारीका साथ मैदान उत्रनेछ ।
हालसम्म नेपालको महिला टिमले विश्वकप खेल्न सकेको छैन । यसपालि नेपाल त्यो ऐतिहासिक उपलब्धि हासिल गर्न आतुर छ । अनुभवी खेलाडीका साथ प्रतियोगिता खेलिरहेकाले पनि नेपाल विश्वकपमा छनोट हुने सम्भावना रहेको हो । यस प्रतियोगिताका लागि नेपालको टिममा सिनियर टोलीबाट खेलिसकेका पूजा महतो र सोनी पाख्रिन पनि रहेका छन् ।
यस्तै, गत संस्करणको यू–१९ विश्वकप छनोट खेलेका एलिसा यादव, साना प्रविन, स्नेहा महरा हाल पनि टोलीमा छन् । राष्ट्रिय टिम र विश्वकप छनोटको अनुभव लिएका उनीहरूको सहभागिताका कारण नेपालले यसपटक लक्ष्य हासिल गर्नेमा समर्थक आशावादी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।