सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाइँदै छ । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि आज खरना मनाउन लागिएको हो ।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन खरना मनाइने गरिन्छ ।
शुक्ल पञ्चमी तिथिको दिन खरनामा पूजा गरे पापको क्षय हुने जनविश्वाससमेत रहेको छ । सन्ध्याकालीन अर्घ्य दिनुभन्दा एक दिनअघि हुने खरनामा व्रतालुहरू दिनभर व्रत बसेर साँझको समय नुहाई धुवाइ गरी माटोको नयाँ चुल्होमा प्रसाद बनाउने गर्दछन् ।
गाइको गोबरले लिपपोत गरी कुल देवता रहेको घरमा चामलको पिठोले अरिपन दिएर व्रतालुहरू पूजापाठ गर्ने गर्दछन् । खरनाका दिन घरका सबै सदस्य तथा छिमेकीहरू जम्माभई प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।
खरना दिनदेखि व्रत बसेका व्रतालुहरूले सप्तमी तिथिको दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइसकेपछि छठ पर्व सम्पन्न हुन्छ । खरनालाई छठ पर्वको मुख्य विधिको रूपमा लिइन्छ ।
खरनामा प्रसादको रूपमा विशेषतः केरा र सख्खरमा तयार पारिएको खीर रहने गरेको छ । खरना तथा छठ पूजाका लागि सामग्री तयार गर्दा शुद्धतालाई विशेष ध्यान दिइने गरिन्छ। पूजन सामग्री शुद्ध नभए अनिष्ट हुने जनविश्वास रहेको छ ।
सूर्य उपासना गर्ने संसारमा छठ एक मात्र यस्तो पर्व हो जसमा अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गरिन्छ। खरनापछि तेस्रो दिन साँझ दिइने अर्घ्यका लागि व्रतालुहरू रातिबाटै पूजन सामग्री तयार गर्न जुट्दछन् ।
चामल र गहुँको पिठोले तयार पारिने ठेकुवा, भुसुवा, खजुरका साथै केरा, उखु, स्याउ, नरिवललगायतका फलफूल छठ पर्वको प्रमुख प्रसादको रूपमा रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।