logo-img

डडेल्धुरामा बस दुर्घटना : शिशुसहित चारको मृत्यु, १२ जना घाइते

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको हो ।  

बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिए । दुर्घटनामा १२ जना घाइते भएका छन् ।  

बसचालक पुर्चौँडी नगरपालिका–८ २४ वर्षीय वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् । यस्तै, दुर्घटनामा पुर्चौँडी–८ का ४२ वर्षीय पदमबहादुर बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएका छन् ।

यस्तै. पुर्चौँडी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका–५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका–५ की ६५ वर्षीया धनमति साउँद पनि घाइते भएको प्रहरी निरीक्षक बमले जानकारी दिए । 



बस चालक बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस गएराति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो । 



बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालक निदाएकाले बस सडकबाट पल्टिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 



  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया