logo-img

‘तिथि फरक पर्छ, तर विश्वभर दसैँको विधि एउटै हो’

प्राध्यापक डाक्टर देवमणि भट्टराई नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक हुन । उनी वाल्मीकि क्याम्पसमा धर्मशास्त्र विभागमा कार्यरत छन् । त्यसका अलावा उनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य समेत हुन । हिन्दुहरूको महान् पर्व बडादसैँका सन्दर्भमा उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ : 

चैते दसैँ र वडा दसैँमा के भिन्नता छ ? 

खासमा दसैँ चार वटा हुन्छन् । एउटा आश्विनमा मनाइने बडादसैँ, त्यसै गरी चैते दसैँ, अर्को माघ शुक्लदेखि दशमीसम्म र अर्को आषाढ शुक्लदेखि दशमीसम्म गरेर चार वटा दसैँ हुन्छन् । यी चार वटा दसैँको महत्त्व उत्तिकै छ । विशेष गरेर नेपालको सन्दर्भमा विजयको सुरुवातको रूपमा असोजको दसैँलाई मुख्य रूपमा लिने प्रचलन छ । 

यसमा भागवान् राम पनि विजयको लागि यही समयमा हिँड्नु भएकाले पौराणिक कथाहरू पनि यसमा जोडिएको छ । अन्य देवी देवताका धार्मिक पक्षहरू पनि यसमा जोडिएकाले वर्षका चार वटा दसैँ मध्ये असोजको दसैँलाई बडादसैँ मानिएको हो । 



बडादसैँलाई विजयको प्रतीक पनि मानिन्छ, त्यसो किन भनिएको हो ?

पौराणिक कथाहरू अनुसार राम कुनै समय वनवास जानु भएको थियो ।  विजया दशमीका दिनमा नै उहाँ प्रस्थान गर्नु भएको थियो । यसलाई एउटा विजयीको प्रतीक मानियो । अर्को कुरा, देवीको आराधना गर्न वातावरणदेखि प्रकृतिका दृष्टिले पनि यति बेलाको मौसम अनुकूल भएकाले यसको पृथक् महत्त्व छ । यद्यपि यस वर्षको अवस्था प्रतिकुल भयो । मौसमले गर्दा प्राकृतिक अवस्था राम्रो भएन । तर सामान्यतया यति बेला घामपानी जस्ता सबै कुराले उचित समय हो । वैज्ञानिक र प्राकृतिक हिसाबले पनि दसैँको विशेष महत्त्व छ । 



दसैँ भनेपछि दश दिनसम्म पूजापाठ गर्ने गरिन्छ । दश दिनसम्म के के हुन्छ ?

दसैँका दश दिनको भिन्नाभिन्नै महत्त्व छ । प्रत्येक दिनको पौराणिक र धार्मिक विविध कारणहरू छन् । तर नवरात्रको विशेष महत्त्व छ । नौ दिनसम्म उपवास गर्ने, पहिलो दिन जमरा राख्ने अनि नौ दिनसम्म क्रमशः यसको पूजा गर्ने प्रचलन छ । प्रत्येक दिनका पूजा र विधिहरू फरक छन् । घटस्थापनाको दिनमा शुभ साइतमा जमरा राख्छौ । त्यसलाई दशमीको दिनमा विसर्जन गर्छौ । दश दिनभित्र विशेष कार्य गर्नुपर्ने भएकाले सबै दिन विशेष महत्वका छन् । 



विश्वभर हिन्दुहरूको सङ्ख्या फैलिएको छ । दसैँ मान्ने परम्परा वा तरिका ठाउँ अनुसार फरक हुन्छ कि एउटै हो ?

देश अनुसार तिथिको कुरा फरक होला तर विधि उस्तै हो । जस्तै घटस्थापनाको लागि अश्विन शुक्ल प्रतिपदा चाहियो, त्यो कहिले पर्छ तिथि हेरिन्छ । अष्ट्रेलियामा यसपालि दसैँको साइत यहाँ भएको दिनको भोलिपल्ट छ । किनभने दशमी तिथिको प्रवेश भोलिपल्ट मात्र भयो । तिथिलाई एकदमै विशिष्ट मानिएको हुन्छ । बार, गते होइन तिथिलाई विशेष मानिएको हुन्छ । 

नेपालको सन्दर्भमा हिन्दुहरू भित्रै पनि विभिन्न जातजातिहरू छन् । उनीहरूले दसैँलाई फरक फरक तरिकाले मनाउने गर्छन् । कसैले सेतो टीका, कसैले रातो टीका लगाउँछन् । यस्तो भिन्नता किन ?

टीका लगाउने भनेको प्रकृति पूजकको रूपमा पनि हुन्छ । जसले प्रकृतिलाई पूजा गर्नुहुन्छ उहाँहरूको आफ्नै विधि छ । उहाँहरूले प्रकृतिबाट लिने भनेको सेतो हो । सेतो दही हुन्छ, अक्षता हुन्छ । दही र अक्षता सेतो भएको हुनाले उहाँहरूले आफ्नो विधि र भिन्नता छाड्नु भएको छैन । 

अर्कोतिर रातो भनेको विजयको प्रतीक भएको हुनाले रातो टीका लगाइन्छ । दसैँ भनेको व्यक्ति, गाउँ, घर वा समाजको नभई राष्ट्रको हो । त्यस कारण राष्ट्रले विजय प्राप्त गरेको दिनलाई पनि जोडिन्छ । हामीले त्यही भएर रातो लगाउँछौ तर सेतो टीका लगाउनु पनि अनुचित होइन ।  दसैँबाट एक खालको ऊर्जा प्राप्त गर्ने हो । वर्ष दिनसम्म पैसा जोगाएर, खेतीपातीबाट विश्राम लिएर मनाउने हो । दसैँमा नौ दिनमा ऊर्जा प्राप्त गरेर बलशाली भएर अगाडि बढ्ने हो । 

नेपाल र भारतमा बस्ने हिन्दुहरू एउटै हुन् । तर उनीहरूले मनाउने र नेपालमा मनाइने दसैँमा केही फरक छ ? भारतमा किन दशहरा पूजा गरिएको ?

हामीले एउटा के गौरव गर्नुपर्छ भने अहिलेसम्म कसैको पराधीन भएनौँ । हाम्रा धर्म, संस्कार, संस्कृतिहरू जे पूर्वदेखि आएका परम्परालाई डोहोर्याइरहेका छौँ । यो अहिलेसम्म पनि जीवन्त छ । जस्तो सगरमाथाको उचाइ छ त्यसैसरि धर्म परम्परा पनि जीवित नै छन् । यस कारण मानिसहरू यहाँ रिचार्ज हुन आउने गर्छन् । नेपालमा त्यस्तो शान्त र नयाँ ऊर्जा दिने ठाँउहरु छन् । 

भारतमा रहेको परम्परा अंग्रेजको शासन भन्दा पहिला जस्तो रहन सकेको छैन । तर नेपालमा अझै परम्परा कायम छ र यस कारण नेपालमा विजया दशमीका दिन टीका लगाउने जस्तो परम्परा कतै छैन । यसलाई बचाएर राख्नु हामी सबैको कर्तव्य हो । 

हाम्रोमा विभिन्न खालको रथ यात्राहरू हुन्छन्, कुमारी पूजा हुन्छ । यस्तो खालको विशिष्ट परम्परा देशमा अझै जीवन्त छ । अन्य देशमा यो लुप्त हुँदै गएको छ । राजसिंहासन नै छाडेर कुमारीको पूजा गर्ने चलन छ । विश्वमा सनातन धर्मको मर्म लुप्त हुँदै गएका छन् । त्यस कारण भएको संस्कृतिलाई जीवन्त राख्नुपर्छ । जीवन्त राख्न सक्यौ भने पक्कै पनि उचाइ प्राप्त गर्न सक्छौ र यसको अनुसरण सबैले गर्न सक्छन् । दसैँ सबैको हो, यो पर्व समावेशी छ । 

हुन त विश्वभर सनातन हिन्दुहरूले दसैँको पूजा गर्ने प्रचलन उस्तै हो । नवदुर्गाको स्थापना, जमरा राख्ने कुरामा कुनै कमी छैन । पहिलो दिन, दोस्रो, तेस्रो, चौथो, पाँचौँ दिन गर्ने पूजाहरूको कुराहरू उस्तै हुन् । छैनौ दिन बेललाई निमन्त्रणा गर्नुपर्छ । सातौँ दिन फूलपाती भित्राउने कुराहरू सबैतिर होलान् तर हाम्रोमा शासन व्यवस्थाले केही परिवर्तन भयो होला तर विधि उस्तै हो । गोरखा दरबारको पूजा, हनुमान ढोकाको पूजा लगायत अन्य पूजा गर्ने परम्परा अन्यत्र कतै छैन । 

भारत र बेलायतमा गोर्खा सैनिक ब्यारेकभित्र दसैँ मनाउने चलन छ । यसबारे केही जानकारी छ ?

जहाँ जहाँ नेपाली पुगेका हुन्छन् त्यहाँ दसैँ मनाउने चलन छ । विदेशमा रोजगारीका लागि होस या व्यापार गरेर बसेकाहरू छन् उनीहरू दसैँ मान्छन् । उनीहरू सबैले परम्परा अङ्गालेका छन् । भारतले पनि गोर्खाली सेनाहरूले जे काम गर्छन् त्यसलाई सम्मानका साथ लाग्ने खर्च सरकारले दिएर राखेको छ ।

यसरी नै बेलायतमा पनि नेपालीहरू पुगेको हुनाले हाम्रो परम्पराको र धर्म संस्कृतिलाई ती देशहरूले सम्मान गरेका छन् । आफ्नो परम्परा नछोड्ने मानिसलाई जहाँ पनि मानिँदो रहेछ भन्ने पनि यसले सन्देश दिन्छ । 

हिन्दु धर्म शास्त्रभित्र बलि प्रथालाई कुन रूपमा व्याख्या गरिएको छ ? 

धर्मशास्त्रले के भन्छ भने यदि तिमी मासु खाँदैनौ भने बलि नदेऊ । बाहुनहरूले बलि दिने विधा नै छैन । तथापि बलि परम्परादेखि नै चली आएको छ । यज्ञका लागि पशुहरूको दृष्टि गरिएको हो । वास्तवमा काम, लोभ, मोहको बलि दिनु पर्ने हो तर त्यो कुरालाई त्याग्नका लागि प्रतीकको रूपमा पशु बलि दिने चलन छ । नेपालको परम्परामा यो कुराहरू दसैँबाट भिन्न गर्न सक्दैनौ । यो चलिरहेको परम्परा हो । नखानेले नदिने ठिक छ, यसको विशिष्ट परम्परा रहेको हुनाले यसलाई छोड्नभन्दा कसरी गर्ने त्यसबारे सोच्नुपर्छ । व्यवस्थित गर्न सक्नुपर्छ । 

नेपालमा विभिन्न धर्म मान्ने समुदायहरू छन् । बौद्ध धर्मावलम्वीहरूले पनि दसैँ मान्छन् । हिन्दु र बुद्धिस्टहरूको दसैँमा के भिन्नता छ ? 

त्यस्तो धेरै भिन्नता छैन । उनीहरू पनि साइतमै सबै कर्म गर्छन् । जति पनि मानिसले दसैँ मनाउनुहुन्छ, मनाउनेहरूले त्यो दसैँको साइत नै पर्खिनु हुन्छ । यो सबैले त्यही अनुसार मनाउने गर्छन् भनेपछि यो त राष्ट्रव्यापी पर्व हो ।  

दसैँका प्रत्येक दिनको पृथक् महत्त्व छ । तर घटस्थापना र फूलपातीको किन बढी चर्चा हुन्छ ?

घटस्थापना भनेको के हो भने दियो, कलश, गणेशको पूजा गरेर घडामाथि एउटा थाली राखेर देवीको यन्त्र लेखेर त्यसमा देवीलाई स्थापना गर्ने हो । घटस्थापना भनेको घडाको र देवीको स्थापना हो । 

यो क्रम पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैनौ दिनसम्म यस्तै विधि अनुसार कर्म गरिन्छ । छैनौ दिनमा विशेष के हुन्छ भने त्यो दिन भगवती दुर्गाको पूजाको लागि आवश्यक पर्ने सामग्रीमा बेलपत्रहरू राखिन्छ । त्यसका निमन्त्रण छैनौ दिनमा गरिन्छ । बेलपत्रको रुखमा गएर निमन्त्रणा गर्नुपर्छ । फूलपातीका दिन त्यहाँबाट त्यो बेलका पातहरू टिपेर, फलहरू टिपेर ल्याएर पूजा कोठामा राख्छौ । फूलपातीको दिन पूजा गरेर घर घुमेर सम्भव भएसम्म भित्राउने हो । 

किनभने त्यो पत्रहरूमा पनि देवीहरूको बास हुन्छ । नौ खालका फूलहरू र बेलका फलहरू ल्याउनुपर्छ । भोलिपल्ट अष्टमीका दिन पहिलादेखि दुर्गासँगै नौ वटी देवीको पूजा गर्छौ । केराको पात चामलको थुप्रो लगाउने पूजा गर्ने अनि त्यहाँ चढाइएको प्रसाद टीका लगाउँदा प्रयोग गर्छौ । नवमीको दिन पहिला थापेको देवी र नौ वटा कन्यालाई पूजा गर्ने र खुवाउने गरिन्छ । त्यसपछि मान्यजनको हातबाट टीका लगाउँछौ । 

पितृहरूको सम्मान गरिसकेपछि जीवितहरूको सम्मान दसैँमा गर्ने हो । अरुबेला गरे पनि दसैँमा विशेष रूपमा सम्मान गर्ने चलन छ । उहाँहरूको आशीर्वाद लिने चलन छ । 

  • प्रकाशित मिति : असोज २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया