गत बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले शिक्षकलाई दलगत राजनीति गर्न दिनुपर्ने धारणा राखे ।
शिक्षकलाई राजनीति गर्न नदिने हो भने आफूहरू निर्वाचनमा जानुको कुनै अर्थ नहुने तर्क गर्दै उनले कक्षामा प्रभाव नपर्ने गरी शिक्षकलाई राजनीति गर्न दिनुपर्ने बताएका थिए । समितिको बैठकमा उनले भने, ‘कक्षामा असरमा नपर्ने गरी राजनीति गर्न दिनुपर्छ । शिक्षकले गरेको राजनीतिले कक्षामा प्रभाव पर्दैन भने उसलाई राजनीति गर्न किन रोक्ने ? यदि शिक्षकलाई राजनीतिक गर्न नदिने हो भने हामी नेताहरू निर्वाचनमा नगए पनि हुन्छ ।’ सांसद श्रेष्ठको बुझाइमा शिक्षकलाई राजनीति गर्न नदिनु भनेको अपमान गर्नु हो ।
यस्तै, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ कुनै पनि हालतमा शिक्षकलाई राजनीति गर्न दिनुहुँदैन भन्ने पक्षमा थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट यसअघिको सरकारमा शिक्षामन्त्री बनेकी उनले जति दिन मन्त्रालयको जिम्मेवारी सम्हालिन त्यति नै दिन शिक्षक र शिक्षालाई राजनीतिबाट टाढा राख्ने प्रयास गरिन् । उनको यही अड्डीका कारण केही शिक्षकहरू रूष्टसमेत बने ।
सुमनाले आफ्नो कार्यकालमा राजनीतिक दलमा लागेका ८२५ जना शिक्षकलाई दलको सदस्यता त्याग्न लगाइन् भने केहीलाई स्पष्टीकरण सोधिन् । पार्टी र जागिरमध्ये एउटा रोज्नुपर्ने विकल्पमा जानुपर्ने भएपछि सुमनाकै कार्यकालमा २० जना शिक्षकले पेसाबाट राजनीनामा दिए अर्थात् शिक्षण पेसा नै छाडे । शिक्षा र शिक्षकलाई एकै ठाउँमा देख्न नसक्ने सुमनाको उक्त अड्डीले न त विद्यालय शिक्षामा सुधार ल्यायो न त शिक्षकहरूमा राजनीतिको मोह हट्यो । बरू यही कदम पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्नुको गतिलो कारणमध्ये एक बन्यो ।
हाम्रा मन्त्री र सांसदहरूले शिक्षकलाई नयाँ प्रविधिसँग कसरी जोड्ने, उनीहरूको अध्यापन क्षमतालाई कसरी अभिवृद्धि गर्ने अथवा गुणस्तरीय शिक्षाका लागि शिक्षकलाई कसरी तयार गर्नेभन्दा पनि राजनीति गर्न दिने वा नदिने भन्ने बहसमा समय खेर फालिरहेका छन् ।
एकजना मन्त्री वा सांसदलाई शिक्षकलाई राजनीति गर्न दिनुपर्छ भन्ने लागेमा राजनीति गर्न दिने र अर्काे कसैलाई शिक्षकलाई राजनीति गर्न दिनुहुँदैन भन्ने सोच पलाएमा रोक लगाउन विषय न्यायोचित हुन्छ कि हुँदैन ? यसरी बेतुकको बहस गर्नुको सट्टा सामुदायिक विद्यालयको हबिगत सुधार गर्नतर्फ सबै एकजुट भएर लाग्नुपर्छ । कुनै पनि शिक्षकले खुलेआम मैले राजनीति गर्न पाउनुपर्छ भनेर नभनेकाले शिक्षकलाई राजनीति गर्न दिन कि नदिने बहस गर्न नै गर्न आवश्यक छैन ।
कानुनले शिक्षकलाई राजनीति गर्न दिन्छ भने विद्यालय र कक्षा कोठालाई असर नपर्ने गरी जागिरको समयभन्दा फरक समयमा उसले आफ्नो मर्जीअनुसार जुनसुकै काम गर्न पाउँछ । यदि शिक्षकलाई राजनीति गर्न कानुनले रोक्छ भने त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ । तर, शिक्षक भएकैले राजनीति र देश अवस्थाबारे जानकारी नै राख्न नपाउने बुझ्न नपाउने भन्ने हुँदैन ।
शिक्षकले भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक, विश्व घटना क्रम र नवनिर्मित प्रविधिलगायत सबै कुरामा चासो राख्नुपर्छ र बझुनु पनि पर्छ । यदि शिक्षक नै यी कुरामा अनभिज्ञ भए भने विद्यार्थीलाई कसरी पढाउँछ ! वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई आफैँ शिक्षण पेसा हुँदै राजनीतिमा आएकी हुन् । अब उनले शिक्षकलाई राजनीति नगर भन्ने नैतिकता कसरी राख्न सक्छिन् ?
शिक्षक राजनीतितर्फ आकर्षित हुनु वा लाग्नुमा विभिन्न राजनीतिक दल, नेता र मन्त्रीहरू नै जिम्मेवार छन् । नेता र राजनीतिक दलहरूले आफूअनुकूल प्रयोग गर्नु नै शिक्षकले राजनीति आबद्ध हुने पहिलो कारण हो ।
विभिन्न राजनीतिक दलका मन्त्रीहरूले आफू अनुकूलका शिक्षकहरूलाई निजी सचिवालयमा राख्ने गरेका छन् । विद्यालयमा पढाइरहेको शिक्षकलाई मन्त्रीले सचिवालयमा राख्दा त्यहाँ एउटा मन्त्रीले गर्ने काम, उसले प्राप्त गर्ने सेवा सुविधा, मानसम्मान र उनीहरूको जीवनशैलीलाई शिक्षकले नजिकबाट हेर्ने अवसर पाउँछ र उसलाई पनि राजनीतिको मोह बढ्छ ।
शिक्षण पेसा हुँदै राजनीतिमा लागेका व्यक्ति देशको उच्च पदमा पुग्नुले पनि शिक्षकलाई राजनीतितर्फ आकर्षित गर्ने गरेको छ । उदाहरणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, वर्तमान शिक्षामन्त्री विद्या भट्टराई, सांसद अर्जुननरसिंह केसी, दिलेन्द्र बडू, भीमसेन दास प्रधान, पूर्वसभामुख कृष्णबहादुर महरालगायतलाई लिन सकिन्छ । यी सबै व्यक्ति कुनै समय शिक्षण पेसामा आबद्ध थिए ।
शिक्षण पेसा हुँदै राजनीतिमा लागेर देशको विभिन्न निकायको नेतृत्व गरिसकेका छन् भने कोही उच्च पदमा पुग्ने प्रयास गरिरहेका छन् । शिक्षण पेसाबाट आएर देशको उच्च पदमा पुगेका व्यक्तिलाई हेरेर आफू पनि सोही पदमा पुग्ने चाह राख्नु मानवीय गुण नै हो ।
संस्कृति, पारिवारिक पृष्ठभूमि, राजनीतिक संरचनालगायत विभिन्न कारणले शिक्षक राजनीतितर्फ आकर्षित हुने कारण भएको शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेल बताउँछन् । नेपाली समाजका प्रायः परिवारका सदस्य कुनै-कुनै राजनीतिक दलमा आबद्ध हुने भएका कारण पनि यसको प्रभाव पर्न गएको शिक्षाविद् लुइँटेलको बुझाइ छ ।
शिक्षक भनेको गाउँ–ठाउँको जान्ने, अग्रज व्यक्ति भएका कारण समुदायसँग बढी घुलमिल हुने व्यक्ति भएकाले पनि राजनीति र शिक्षक एकआपसमा जोडिएको उनको बुझाइ छ । उनका अनुसार पञ्चायतकालमा राजनीतिको मियो र मेरुदण्ड शिक्षक र विद्यार्थी थिए । अब भने शिक्षक र राजनीतिलाई छुट्याउनुपर्ने शिक्षाविद् लुइँटेल बताउँछन् ।शिक्षक राजनीतिमा लाग्दा त्यहाँ स्वार्थ बाझिने हुँदा शिक्षकले राजनीति गर्न नहुने उनको बुझाइ छ ।
विद्यालय समयबाहिर शिक्षकले राजनीति गर्न पाउनुपर्छ भन्ने कुरा उठ्न थालेको सुनाउँदै शिक्षाविद् लुइँटेलले त्यसो गर्न नहुने बताउँछन् । शिक्षकले अन्य मानिसको मूल्यांकन गर्ने क्षमता राख्ने भएका कारण शिक्षक राजनीतिमा जोडिएको खण्डमा त्यहाँ पक्षपातपूर्ण व्यवहार हुन सक्ने उनको बुझाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।